काठमाडौं । तोकिएकै समयमा चुक्ता पूँजी पुर्याउन नसकेको बीमा कम्पनीहरूलाई नेपाल बीमा प्राधिकरणले सहजीकरण गरिएदिएको छ ।
यसअघि बीमा कम्पनीलाई समयवधि थप, हकप्रद ल्याउन दिने व्यवस्था गरिदिएको प्राधिकरणले अहिले प्रिमियम कोषमा भएको रकम लाभांशको रुपमा वितरण गरी पूँजी पुर्याउने दिने भएको हो ।
प्राधिकरणले गत असार मसान्तसम्म जीवन बीमालाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पूँजी पुर्याउने निर्देश्न दिएको थियो । तर, सो समयमा अधिकांश कम्पनीले पूँजी पुर्याउन नसकेपछि प्राधिकरण नीतिगत लचकता अपनाउँदै आएको छ ।
यसैक्रममा, प्राधिकरणले हालै प्रिमियम मूल्यमा आइपीओ जारी गरेका कम्पनीसहित लाई मध्येनजर गर्दै प्रिमियम कोयामा रहेको रकम पूँजी वृद्धिका लागि प्रयोग गर्न पाउने निर्णय गरेको हो । योसँगै अब आइपीओ निष्कासन गरेका जीवन बीमा कम्पनीहरूले प्रिमियम सेयर मूल्यलाई लाभांश वितरण गरेर पूँजी कायम गर्न सक्नेछन् ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले प्रिमियममा आइपीओ निष्कासन गरेका कम्पनीलाई पूँजी कायम गर्ने प्रयोजनको लागि सहज हुने निर्णय गरिएको बताए ।
‘पूँजीवृद्धि प्रयोजनको लागि कम्पनीले आइपीओ निष्काशन गरेका हुन् । अब त्यो प्रिमियम रकमलाई लाभांश वितरण गरेर तोकिएको पूँजी कायम गर्न दिने निर्णय भएको छ,’ उनले भने ।
प्राधिकरणको यस निर्णयले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका कम्पनी सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल र रिलायबल नेपाल बीमा कम्पनीलाई पूँजी पुर्याउन सहज हुने भएको छ ।
मर्जर तथा प्राप्तिमा गएका कम्पनीहरूले ३० प्रतिशतसम्म हकप्रद जारी गर्न पाउने छन् । केही कम्पनीहरूले बोनस सेयरमार्फत पनि पूँजी कायम गर्न दिने निर्णय प्राधिकरणले गरेको छ ।
जीवन र निर्जीवनगरी २८ बीमा कम्पनी मध्ये आधा दर्जनले मात्रै चुक्ता पूँजी कायम गरेका छन् ।जीवनतर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन् भने राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एसियन लाइफ, सानिमा रिलायन्स कम्पनीहरूको पूँजी पुगेको छैन ।
त्यस्तै, निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी (सलिको) शिखर, आइजीआई प्रुडेन्सियलकाे पूँजी पुगिसकेकाे छ भने नेपाल इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट, युनाइटेड अजोड, नेको, प्रभु, एनएलजी र सानिमा जिआइसीले पुर्याउन सकेका छैनन् । प्राधिकरणका अनुसार एक दर्जन कम्पनीहरूले हकप्रद जारी गर्ने अनुमति माग गरेका छन् । ती कम्पनीलाई आवश्यक पर्ने पूँजी अनुसार अनुमति दिने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
प्राधिकरणले पूँजी बढाउने निर्णय विदेशी लगानीको बीमा कम्पनीमा भने लागू भएको छैन । नेपालमा जीवनतर्फ मेटलाइफ र निर्जीवनतर्फ नेशनल इन्स्योरेन्स र दि ओरिअन्टल कम्पनी रहेका छन् । यसैगरी, सरकारी बीमा कम्पनीको हकमा पनि चुक्ता पूँजी वृद्धिको निर्णय लागू हुने भनिए कार्यान्वयनमा भने आशंका देखिएको छ ।
२०७८ चैतमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे दुई गुणाले वृद्धि गर्ने निर्णय गरेको थियो । एक वर्षभित्र बीमा जीवन बीमा कम्पनीलाई दुईबाट ५ र निर्जीवन बीमा कम्पनीलाई १ बाट साढे दुई अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । तर, त्यसअनुसार बीमा कम्पनीले पूँजी कायम गर्न सकेनन् ।
गत चैतसम्म अधिकांश कम्पनीले पूँजी कायम गर्न नसक्ने भएपछि प्राधिकरणले कम्पनीको पूँजीमा अन्य नीतिगत लचकता अपनाउँदै आएको छ । यो बीचका दर्जन बीमा कम्पनी मर्जर तथा प्राप्तिमा सामेल भएर तिनको अस्तित्व मेटिएको छ । मर्जरमा गएपछि पनि धेरै कम्पनीहरूले पूँजी कायम गर्न सकेका छैनन् ।
कुनको प्रिमियम कोषमा कति छ ?
हालै ४ जीवन बीमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप प्रिमियम जोडेर आइपीओ निष्काशन गरेको थिए । सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफले प्रिमियम मूल्यमा सेयर जारी गरेका हुन् ।
सिटिजन्स लाइफले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आइपीओ जारी गरेको थियो । हाल ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रिमियम कोषमा १ अर्ब ५५ करोड रुपैयाँ संचित छ । कम्पनीले ५ अर्ब पूँजी पुर्याउन प्रिमियम कोषको सबै रकम लाभांश दिन सक्छ । सिटजनले प्रिमियमबाट ४१ प्रतिशत लाभांश दिन सक्ने भए पनि ३३.३३ अर्थात् १ अर्ब २५ करोड लाभांश बाँड्दा तोकिएको चुक्ता पूँजी पुग्छ ।
त्यसैगरी, हाल ४ अर्ब चुक्त पूँजी रहेको आइएमई लाइफको प्रिमियम कोषमा १ अर्ब ५३ करोड संचिति छ । ५ अर्ब पूँजी पुर्याउन कम्पनीले २५ प्रतिशत लाभांश बाँड्नुपर्छ । जबकि प्रिमियममा भएको रकमले ३८ प्रतिशतसम्म लाभांश दिने क्षमता छ ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सले पनि चुक्ता पूँजी पुर्याउन २५ प्रतिशत लाभांश दिए पुग्छ । हाल ४ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रिमियममा १ अर्ब ७५ करोड संचित छ । जसबाट कम्पनीले ४३ प्रतिशतसम्म लाभांश बाँड्न सक्छ । प्रिमियमको सबै रकम बाँडे कम्पनी पूँजी ५ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
सन नेपाल लाइफले भने प्रिमियम कोषको रकम लाभांश बाँड्दा पनि चुक्ता पूँजी पुर्याउन नसक्ने देखिन्छ । हाल ३ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १ अर्ब ८० करोड पूँजी थप्नुपर्छ । जबकि कम्पनीको प्रिमियम कोषमा १ अर्ब २६ करोड मात्रै छ । यसले ३९ प्रतिशत लाभांश बाँड्न पुग्छ । सो रकम सबै बाँड्दा कम्पनीको पूँजी ४ अर्ब ४६ करोड पुग्छ । ५ अर्ब पुर्याउन थप ५४ करोड अपुग हुन्छ । जसका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न सक्छ ।