काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले होटल तथा पर्यटन क्षेत्रमा ऋण लगानी बढाउँदै गएका छन् । पछिल्लो समय पर्यटन क्षेत्रमा सुधार आएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्नो लगानी बढाउँदै लगेका हुन् ।
कोरोनाका कारण सन् २०१९ देखि करिब २ वर्ष ठप्पप्रायः भएको पर्यटन व्यवसाय पछिल्लो समय चलायमान हुँदै गएको छ । सोसँगै देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा तारे होटल तथा पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम बढ्दो छ । पूर्वाधार निर्माण बढेसँगै बैंकहरुले पनि कर्जा लगानी बढाएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै बैंकहरुले होटल तथा पर्यटन क्षेत्रमा ७ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत असार मसान्तसम्म पर्यटनसँग सम्बन्धित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कुल २ खर्ब ११ अर्ब रुपैयाँ ऋण लगानी गरेकोमा असोज मसान्तसम्म आइपुग्दा ३.६८ प्रतिशत बढेर २ खर्ब १८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
अन्य क्षेत्रको तुलनामा जोखिम न्यून हुने र एकपटक लगानी गरेपछि लामो अवधिसम्म प्रतिफल आइरहने भएकाले होटल तथा पर्यटन क्षेत्र लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा समेत ऋण लगानी बढाउन नसकेका बैंकहरुले अन्य क्षेत्रको तुलनामा यस अवधिमा होटल तथा पर्यटनमा भने लगानी आकर्षित गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा नयाँ पर्यटकीय संरचना बन्नेक्रम बढ्दो छ । स्काई वाक, बन्जीजम्प, केबलकार, स्काई साइक्लिङ लगायत कयौं संरचनाहरु विभिन्न ठाउँमा निर्माण भइरहेका छन् ।
त्यस्ता ठाउँहरु पर्यटकको रोजाइमा पर्ने भएकाले व्यवसायिक प्रतिफलका लागि लगानी पनि सोही रफ्तारमा बढेको देखिन्छ । जुन राष्ट्र बैंकको तथ्यांकले पनि देखाउँछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी विविधिकरण गर्न न्यूतम सीमा तोकेको छ । सोही अनुसार संस्थाहरुले कृषि, हाइड्रोपार, साना तथा मझौला उद्योग, पर्यटन लगायतका क्षेत्रमा व्यवसाय विस्तार गरिरहेका छन् ।
कुन बैंकको कति लगानी ?
पर्यटन व्यवसायसँग सम्बन्धित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको समग्र लगानी सावा २ खर्ब हुँदा वाणिज्य बैंकहरुले मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।
जसमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले २८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । दोस्रोमा प्रभु बैंकले १६ अर्ब रुपैयाँ यस क्षेत्रमा कर्जा प्रवाह गरेकोे छ । सबैभन्दा न्यून नेपाल स्ट्यन्डार्ड चाट्र्ड बैंकले १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकले १५/१५ अर्ब रुपैयाँ बढी, कुमारी १४ अर्ब, राष्ट्रिय वाणिज्य बैंक १२ अर्ब, हिमालयन ११ अर्ब र नबिल बैंकले १० अर्ब रुपैयाँ बढी ऋण लगानी गरेका छन् ।
यसैगरी, लक्ष्मी सनराइज ९ अर्ब, नेपाल बैंक ८ अर्ब, सिद्धार्थ र एनएमबी बैंक ७/७ अर्ब रुपैयाँ बढी होटल तथा पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका छन् ।
एनआइसी एसिया र एसबीआई ६/६ अर्ब, सानिमा बैंक ५ अर्ब, माछापुच्छ्रे र कृषि विकास ४/४ अर्ब रुपैयाँ, एभरेष्ट ३ अर्ब र सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ बढी लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।