बैंकमै थुप्रियो ५ खर्ब लगानीयोग्य रकम, किन बढ्न सकेन कर्जाको माग ?

काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रने क्रम झनै बढेको छ । दशैं, तिहार लगायत चाडपर्व सकिएपछि ऋणको माग बढ्ने अपेक्षा गरिए पनि कर्जा लगानी बढ्नुको सट्टा झन् निक्षेप थपिन थालेको छ ।

गत आर्थिक वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जाको माग बढ्न नसक्दा पैसा बैंककै थुप्रिएर बसेको हो । प्रणालीमै लगानीयोग्य रकम थुप्रिँदा एकातिर बैंकको लागत बढेको छ भने अर्कोतिर अर्थतन्त्र चलायमान हुन सकेको छैन् ।

बैंकिङ प्रणालीमा अहिले ५ खर्ब रुपैयाँ लगानी योग्य रकम (तरलता) रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अहिले बैंकहरूको सीडी रेसियो (निक्षेप कर्जाको अनुपात) औसतमा ८०.९२ प्रतिशत रहेको छ । यसले प्रणालीमा पर्याप्त तरलता रहेको देखाउँछ । बैंकहरूले ९० प्रतिशत सीडी रेसीयोसम्म ऋण लगानी गर्न पाउने नेपाल राष्ट्र बैंकको प्रावधान छ ।

थपिँदो निक्षेप र सुस्त कर्जा विस्तारले बैंकहरू अधिक तरलताको अवस्थामा पुगेको बैंकरहरू बताउँछन् । जुन अनुपातमा निक्षेप थपिइरहेको छ सोही अनुपातमा कर्जा लगानी नहुँदा बैंकहरूलाई तनाव बढ्दो छ ।

सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भन्दै पछिल्लो समय नीतिगत कडाइ हटाउँदै लगे पनि कर्जाको माग बढ्न सकेको छैन । यद्यपि, पछिल्लो समय सेयर, हायरपर्चेज, व्यक्तिगत घरकर्जा भने बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल आर्थिक गतिविधि बढ्न नसक्दा माग बढ्न नसकेको बताउँछन् । ‘कर्जा बढाउन नसक्नुको कारणमा बैंकहरूले डिमान्ड कम भएको भनिरहेका छन् । गत वर्षको तुलनामा यो स्थिति हेर्दा धरासायी देखिएको छैन,’ उनले भने, ‘जति गतिविधि बढ्नु पर्ने हो, त्यसअनुसार बढेको देखिँदैन ।’

निर्माण सामग्री, सेयर बजार र घरजग्गा कारोबारको क्षेत्रमा पहिलेको जस्तो माग वृद्धि नहुँदा आर्थिक गतिविधि बढ्न नसकेको उनले बताए ।

पूर्व बैंकर अनलराज भट्टराई बैंकहरूसँग ५ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम रहेको र अर्थतन्त्रमा आएको विभिन्न उतरचढावले ऋण लगानी बढ्न नसकेको बताउँछन् ।

‘कोभिडपछि अनियन्त्रित कर्जा प्रवाह लगायत विभिन्न कारणले गर्दा माग बढ्न,’ उनले भने, ‘बैंकहरूसँग लगानीयोग्य रकम ५ खर्ब रुपैयाँभन्दा बढी छ । अब विस्तारै पिकअपहुने देखिन्छ ।’

निर्माण कार्य र अन्य गतिविधिहरू बढ्ने देखिएकाले बैंक तथा वित्तीय संस्थाको ऋण लगानी वृद्धि हुने उनको भनाइ छ । चालु आवको मंसिर १३ गतेसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७८ अर्बले वृद्धि हुँदा कर्जा लगानी १ खर्ब २ अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म बैंकिङ प्रणालीमा ५७ खर्ब ७१ ऋर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले ५९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, असारसम्म संस्थाहरूको कुल ४८ खर्ब ७८ अर्ब कर्जा लगानी रहेकोमा मंसिर मध्यसम्म ४९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।
यो वर्षको सुरूदेखि नै वैदेशिक पर्यटन आवगमन, रेमिट्यान्स आप्रवाह उच्च वृद्धि भइरहेको छ । जसको कारण प्रणालीमा विदेशी मुद्रा संचिति इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

बैंकहरूमा कायम अधिक तरलताले ब्याजदर घट्दै गएको छ । अन्तर बैंक ब्याजदर १.४१ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४.५ प्रतिशत अन्तर बैंकदर तय गरेको छ । योभन्दा अन्तर बैंक ब्याजदर तर आउँदा राष्ट्र बैंकले बजारबाट रकम खिच्ने गर्छ । तर, यस पटक भने अधिक तरलता हुँदाहुँदै यस्ता उपकरणहरू प्रयोग गरेको छैन । यसैकारण निक्षेपको ब्याजदर पनि संस्थाहरूले घटाउँदै लगेका छन् ।

कात्तिकमा औसत ९.९६ प्रतिशत रहेको वाणिज्य बैंकको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अहिले मंसिरमा ०.३३ प्रतिशतले घटेर ९.६३ प्रतिशत कायम भएको छ । यसैगरी, कर्जाको ब्याजदर पनि ओरालो लाग्दै गएको छ । राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकको साधारण बचतको ब्याजदर औसत ७.५ प्रतिशत छ भने कर्जाको ब्याजदर १२.११ छ

 

नेप्सेमा लगातार पाँचौं दिन गिरावट, कारोबार पनि खुम्चियो Read Previous

नेप्सेमा लगातार पाँचौं दिन गिरावट, कारोबार पनि खुम्चियो

काँकडभिट्टा-लौकही सडक एसियाली स्तरको बनाइँदै, रुख कटान प्रक्रिया सुरू Read Next

काँकडभिट्टा-लौकही सडक एसियाली स्तरको बनाइँदै, रुख कटान प्रक्रिया सुरू