काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । गत आइतबार एकैदिन ४७ अंकले बढेको नेप्से त्यसपछिका ५ दिनमा ५६ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनिक सवा अर्ब बढीको कारोबार हुँदै आएको आज ९६ करोड रुपैयाँमा सीमित भएको छ ।
आइतबार नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा आइपुगेको छ । यसदिन २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच भएको छ । आज ९४ कम्पनीको सेयर मूल्य बढेकोे छ भने १३६ को घटेको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२५ प्रतिशतले घटेको छ ।
आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, युनाइटेड इदीमर्दी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।
आज थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ९.६३ प्रतिशत कमाएका छन् ।