काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट–रुकुम पश्चिमका भूकम्प पीडितलाई १ लाख अमेरिकी डलर (करिब १ करोड ३३ लाख रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।
बैंकले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकाले आपतकालीन राहत उपलब्ध गराउन साझेदार बेलायती रेडक्रसलाई उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
उक्त रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्पबाट घरबार गुमाएका र जाडो याम नजिकिएसँगै रोगको चपेटामा परेका परिवारलाई प्राथमिक उपचार र चिकित्सा सहायताका साथै खाद्यान्न, पानी, राहत सामग्रीलगायत आपतकालीन आश्रय सामग्री उपलब्ध गराउन सहयोग गर्ने बैंकको विश्वास छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःखी हुँदै पीडितको पक्षमा उभिएको बताए ।
‘भूकम्पबाट भएको क्षतिप्रति हामी अत्यन्त दुःखी छौं । पीडितको पक्षमा उभिएका छौं। नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकको रुपमा हामी आवश्यकताको समयमा सकारात्मक परिवर्तनको शक्ति बन्न सक्ने बलियो स्थितिमा छौं । हामी आशा गर्दछौं कि हाम्रो सहयोगले राहत वितरणमा सहयोग गर्नेछ,’ उनले भने ।
वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि स्ट्यान्डर्ड चार्टर्डले पीडित र तिनका परिवारलाई खाद्यान्न, आपतकालीन टेन्ट, स्लिपिङ ब्याग लगायत आपतकालीन राहत उपलब्ध गराउँदै आएकोछ । यस कार्यमा रेडक्रसलाई सहयोग पुर्याउन बैंकले आन्तरिक रुपमा पनि रकम संकलन गरिरहेको छ ।