काठमाडौं । निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोण राख्छन् भन्ने आरोप लाग्दै आएका नेपाल राष्ट्र्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायी माथि आक्रोश पोखेका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अधिकारीले व्यवसायीहरूले आफ्नो काम गर्नभन्दा अर्कोतिर (राष्ट्र बैंक र सरकारलाई) दोष मात्र लगाउने काम गरेको बताएका हुन् ।
व्यवसायीले अर्थतन्त्रको अवस्था र समस्या नबुझी सधैं आफ्नो समस्या मात्र उठाउने गरेको उनले बताए । साथै, अर्थतन्त्रमा आएका सबै समस्या राष्ट्र बैंककै कारण आएको भन्ने गलत बुझाइ र प्रचार भइरहको उनले बताए ।
व्यवसायीले योजना र व्यवसायको आकार बिना ऋण लिनु मुख्य समस्या भएको उनले बताए । ‘व्यक्तिगत रूपमा कतिपय व्यवसायीलाई अप्ठेरो परेको महसुस हामी गर्छौं । उनीहरू बैंकलाई रिपेमेन्ट गरिदिनु पर्यो भनेर भनिरहेको छन्,’ उनले भने, ‘मुख्य समयस्या यहीँ हो । कतिपय व्यवसायिक व्यक्ति र साथिहरू ऋण लिन्छन् । तर, त्यो योजना बनाउँदैनन् । मेरो व्यवसायको साइज कति हो, ऋण लिनुपर्ने कति हो भन्ने हेर्दैनन् ।’
व्यवसायीले आफ्नो घाँटी हेरेर हाड निल्नुभन्दा राष्ट्र बैंकमाथि दोष थोपरेको अधिकारीले बताए । ‘आफ्नो घाँटी हेर्नु हुन्न, त्यत्तिकै हड्डीको साइज लिनुहुन्छ । अनि त्यसपछि अड्क्यो भनेर समस्या राज्यलाई राष्ट्र बैंकतिर थोपर्नु हुन्छ, जुन कुरा गलत छ,’ उनले भने ।
ब्याजदरमा अफवाह नफैलाउन आग्रह
कार्यक्रममा अधिकारीले व्यवसायीहरूलाई बैंकहरूले १८ प्रतिशत ब्याजदर लिएको भन्दै अफवाह नफैलाउन भने । वाणिज्य बैंकले १८ प्रतिशत ब्याजदर लिइरहेको छ भने त्यो स्टेटमेन्ट लिएर गुनासो गर्न आउनुपर्ने तर अराजकता फैलाउनेलाई प्रोत्साहित गर्ने हिसाबले बजारमा हवा फैलाउने काम गलत भएको उनले बताए ।
‘बैंकको बेसरेट १० प्रतिशत हुँदा पनि धेरैले ८/९ प्रतिशत ब्याजदरमै ऋण लिएका छन् । नेता ज्यू कहाँ जानुहुन्छ, भाषण गर्नुहुन्छ बैंकले १८ प्रतिशत ऋण लिएको भनेर,’ अधिकारीले भनेर्, म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, वाणिज्य बैंकले १८ प्रतिशत ब्याजदर लिइरहेको छ भने त्यो स्टेटमेन्ट लिएर आउनुस् । बढी लिएको ब्याजदर फिर्ता गर्छौं । तर, बजारमा हौवा फैलाउने, लिँदै नलिएको कुरा लियो भन्ने र अराजकता फैलाउनेलाई प्रोत्साहित गर्ने जुन कुरा गलत छ ।’
यसअघि लिएको स्थिर ब्याजदरका कारण अहिले पनि धेरै व्यवसायीहरूले साढे ६ प्रतिशतभन्दा कम ब्याजद र तिरिरहेको बताए । ‘मैले स्पष्ट रूपमा भन्नुपर्छ, ऋणको कम्पोनेन्ट कति हो, ब्याजले एउटा व्यवसायलाई कति असर पर्छ । त्यो अहिले पनि ब्याजदर र ठूला व्यवसायीले ६ प्रतिशतबाट लिनुभएको छ,’ उनले भने, ‘तीन वर्ष अघि लिएको साढे ६ प्रतिशत ब्याजदरमा थुप्रै व्यवसायीहरूले इन्जोइ गरिरहेका छन् ।’
ब्याजदरको विषयमा राष्ट्र बैंकले बजारलाई छोडेको उनले दोह्रोयाए । राष्ट्र बैंकले उपभोक्ताको हित हेरेर ब्याजदर र नीतिमा ध्यान दिएको उनले बताए ।
मौद्रिक नीतिलाई दोष दिनु गलत
अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएको बताउँदै यसमाथि दोष दिनु गलत भएको बताए । ‘जोसुकैले काम नगरे पनि मौद्रिक नीतिलाई दोष दिनु गलत हो । मौद्रिक नीतिका आफ्नै सीमा छन् । त्यसले आफ्नो उदेश्य हासिल गर्नको लागि कार्यान्वयन गर्ने हो,’ अधिकारी भन्छन् ।
राज्यको नीतिलाई मौद्रिक नीतिबाट कहीँ पनि समस्या भएको अधिकारी बताउँछन् । राज्यको मुख्य दृष्टि उत्पादन बढाउने तिर रहेको भन्दै त्यसको लागि नीतिगत प्रयासहरू पनि गरेको भइरहेको उनको भनाइ छ ।
‘आन्तरिक उत्पादन बढाउने अर्थतन्त्रको ड्राइभ गर्ने कयौं नीतिगत प्रयास नभएका होइनन् । राज्यको मुख्य दृष्टि पनि त्यही छन् । सरकारको नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा समेत स्रोतसाधन उत्पादनमा लगाउने स्पष्ट नीति छन् । त्यत्ति हुँदाहुँदै पनि त्यो दिशामा प्रचुर मात्रामा काग गर्न सकिरहेका छैनौं,’ उनले भने ।
अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले पनि लगानी र आर्थिक वृद्धि बढाउनुभन्दा ऋण चाहियो भन्नेतिर गइरहेको उनको भनाइ छ । दिगो विकासको लागि आवश्य पर्ने आर्थिक वृद्धिप्रति मौद्रिक नीति प्रतिवद्ध रहेको उनले दोह्रोर्याए ।
कसिलो नीतिले खराब कर्जा बढ्यो
राष्ट्र बैंकको कसिलो नीतिगत व्यवस्थाले खराब कर्जा बढेको अधिकारीले स्वीकारेका छन् । ‘आर्थिक शिथिलताको असर स्वरूप एनपीएल र कर्जाको गुणस्तरमा परिरहेको छ । त्यो गुणस्तर खस्कीएको कारण केही राष्ट्र बैंकले लिएको कसिलो नीतिको कारणले पनि हो,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थाको नाफा र लाभांशभन्दा संस्थागत सुरक्षालाई ध्यान लिएको उनले बताए । ‘हामीले किन कसिरहेका छौंभन्दा यस्तो बेलामा कसेन भने वित्तीय संस्था नै अप्ठेरोमा पर्नसक्छ । यस्तो बेलामा नाफाभन्दा संस्थाको सुरक्षणको कुरामा ध्यान दिनुपर्छ,’ अधिकारीले उल्लेख गरे, ‘त्यसैले संस्थाको प्रोभिजनिङ, सम्पत्तिको गुणस्तरमा, कडाइ गरिरहेका छौं । कोभिडको बेला हेर्न नपाएको सुपरभाइजरी पनि अहिले हेरिरहेका छौं । राष्ट्र बैंकको काम र सुपरभाइजरी, बजारका केही कारकले पनि एनपीए बढेको हो ।’
वास्तविक खराब कर्जा हेर्दा न्यून रहेको र त्यो त्यो दक्षिण एशियामै कम भएको उनले बताए ।
लगानीको अवसर
पर्याप्त विनिमय संचिति भएकाले अहिले सरकार र निजी क्षेत्रको लागि लगानी बढाउने अवसर भएको अधिकारीले बताए । निजी क्षेत्रको आयोजना अगाडि बढाइराख्न खोज्दा अन्य राष्ट्र बैंकले काहीलाई विदेशी मुद्रा दिँदैन कि पुग्दैन कि भन्ने कन्जुस्याँइ गर्नुपर्ने अवस्था छैन । यो हाम्रो ठूलो स्ट्रेन्थ हो त्यसलाई सरकार र निजी क्षेत्रले उपयोग गर्न सक्नुपर्छ,’ अधिकारी भन्छन् ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा ऐतिहासिक रूपले मजबुत अवस्थामा र यो बढ्दै जाने उनको भनाइ छ । वास्तविक क्षेत्रमा पर्यटकको उपलब्धी उत्साहजनक रहेको उनले स्मरण गरे । अहिले पर्यटन आवागमनको तथ्यांक हेर्दा लक्ष्य भेट्न सकिने देखिएको उनले बताए ।
यो वर्ष विगत दश वर्षको औसतभन्दा आर्थिक वृद्धि कम नहुने अधिकारीको अनुमान छ । सरकारको राजस्व परिचालनमा विभिन्न चुनौतीहरू थपिँदै गएको अधिकारीले बताए । अहिलेको शिथिलताको अवस्था सुधार गर्न अन्तर्राष्ट्रिय अभ्यासहरू पनि हेर्दा खर्च र लगानी बढाउनुपर्ने उनको भनाइ छ ।