महिनैपिच्छे १ लाख पर्यटक आउन थाले, यस वर्ष १० लाख नाघ्ने

काठमाडौं । पर्यटकीय सिजन सुरू भएसँगै महिनैपिच्छे १ लाख बढी पर्यटक नेपाल आउन थालेका छन् । पछिल्लो दुई महिनामा लगातार १ लाख बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नोभेम्बर महिनामा हवाईमार्ग हुँदै १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो महिना नोभेम्बरमा कीर्तिमानी १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका थिए ।

कोभिडका कारण सन् २०२१ सम्म न्यून रहेको पर्यटक आवगमन सन् २०२२ देखि क्रमशः लयमा फर्किँदै गएको छ । सन् २०२३ मा भने पर्यटक आवगमन कोभिड अघिकै अवस्थामा पुगेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सन् २०२३ को ११ महिना (नोभेम्बरसम्म) कुल ९ लाख १८ हजार ३०८ पर्यटक नेपाल भित्रिएका छन् । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । डिसेम्बर महिना पनि पर्यटकीय सिजन नै रहेकोले सरकारी लक्ष्य सजिलै हासिल हुने बोर्डको भनाइ छ । १० लाख पर्यटक पुग्न अब डिसेम्बरमा ८२ हजार पर्यटक आउनुपर्नेछ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे । उनले भने, “एघार महिनामा ९ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।”

पर्यटक आवगमन बढेसँगै पर्यटन व्यवसाय चलायमान भएको छ । होटल, ट्रेकिङ लगायत व्यवसाय कोभिय अघिकै अवस्थामा फर्किएका छन् । यस्तै, विदेशी पर्यटक बढ्दा विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुन महिना कति पर्यटक आए ?

बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा सबैभन्दा धेरै १ लाख १७ हजार ३०६ विदेशी नेपाल घुम्न आएका छन् । त्यस्तै, नोभेम्बरमा १ लाख ८ हजार ६३०, सेम्टेम्बरमा ९२ हजार ६०४, अगस्टमा ६७ हजार १५३, जुलाइमा ५६ हजार ७२३ विदेशी नेपाल भ्रमणमा आएका थिए ।

त्यसैगरी, जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३ र जुनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।

२० प्रतिशत भारतीय

पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार ४४३ जना पर्यटक नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् ।

व्यवसायी माथि 'खनिए' गभर्नर, सम्झाए यस्ता 'पाठ' Read Previous

व्यवसायी माथि 'खनिए' गभर्नर, सम्झाए यस्ता 'पाठ'

गिग अर्थव्यवस्था, अर्थतन्त्रको नयाँ स्वरूप : गगन थापाको विचार Read Next

गिग अर्थव्यवस्था, अर्थतन्त्रको नयाँ स्वरूप : गगन थापाको विचार