काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १६७.५० रुपैयाँ, १६९ रुपैयाँ र १७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५७.५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ कायम गरेको छ ।
आइओसीले बिहीबार नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर २.१२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर४.०८ रुपैयाँ घटेको जानकारी दिएको निगमले जनाएको छ ।