पर्यटकीय सिजन शुरु, बढेको भिसा शुल्कले पर्यटकको आगमनमा कस्तो पार्ला प्रभाव

काठमाडौं । नेपालमा पर्यटकीय सिजन शुरु भएको छ । साथै सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० पनि शुरु हुनै लागेको छ ।

 

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसको लागि सरकाले विभिन्न अन्तर्राष्ट्रि संचार माध्यमको साथै विदेशी नियोग मार्फत प्रचार प्रसार तीव्र पारेको छ । पछिल्लो नेपाल भित्रिने पर्यटकको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

 

सरकारले साउन १ गतेदेखि लागू हुने गरी पर्यटकलाई दिइने प्रवेश आज्ञा (भिसा) शुल्क बढाएको थियो । सरकारले ११ वर्षपछि भिसा शुल्कमा २० प्रतिशतले वृद्धि गरी १५ दिनको भिसा शुल्क २५ डलर लाग्ने गरेकोमा सरकारले बढाएर ३० डलर पुर्याइएको थियाे भने एक महिनाको भिसा शुल्क ४० डलर बाट बढाएर ५० डलरमा पुर्याइएको छ ।

 

नेपालमा पर्यटकहरुले बढिमा ९० दिनको बसाइ भिसा पाउँछन् । त्यसमा पनि सरकारले १ सय डलरबाट बढाएर १ सय २५ डलर बनाएको छ ।

 

यसरी भिसाको शुल्क बढाउँदा पर्यटकले सहज अनुभूती नगर्ने टानको बुझाई छ ।‘सन् २०२० मा २० लाख पर्यटन भित्राउने लक्ष्य लिएको सरकारले एकाएक यसरी भिसा शुल्क बढाउदा नेपाल भ्रमणमा आउने योजना बनाएका पर्यटकले असहज मान्न सक्छन्’, टानका उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की बताउँछन्, ‘सरकारले भिसाको रकम झन् कम गरेर पर्यटक बढि भित्राउनु पर्नेमा भिसा शुल्क बढाएको छ ।’

 

भिसा शुल्क कम गरेर यहाँ बसाइका क्रममा पर्यटकले बस्ने होटल र गर्ने क्रियाकलापमा भने शुल्क बढाउनुपर्ने टानको बुझाई छ । ‘शुरुमा छुट दिएर भित्राउने र त्यसपछि अन्य क्रियाकलापमा भने बिस्तारै स्वभाविक र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप शुल्क बढाउँदै जानु स्वभाविक व्यवसायीक रणनीति हुन्थ्यो’, कार्की भन्छन् ।

 

अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारी भने समय अनुकूल समायोजनको आवश्यकता भएकाले भिसा शुल्क बढाइएको बताउँछन् । उनले १० वर्ष पछि भिसा शुल्क समायोजन गरिएको बताए ।

 

‘भिजिट नेपाललाई भिसा शुल्कले केही बिगार्दैन । ५ डलर बढ्दैमा पर्यटक नआउने हुँदैन । उनीहरुलाई आउन अरु आकर्षक प्रोडक्टहरु छन् नी,’ तिवारीले चाणक्य पोष्टसँग भने । गत वर्ष ११ लाख ७३ हजार पर्यटन नेपाल भित्रिएका थिए ।

 

तर, टानका उपाध्यक्ष कार्की भने सरकारले भिसा शुल्कमा सक्दो छुट दिएर पर्यटक भित्राउनु पर्ने बताउँछन् । यसका अतिरिक्त सरकारले भौतिक निर्माण तथा पूर्वाधारको विकास तर्फ पनि ध्यान दिन नसकेको उनले बताए ।

 

‘निजी क्षेत्रले पर्यटन वर्षलाई विभिन्न छुटको व्यवस्था ल्याइ रहेको छ । तर, सरकारले आफ्नो तर्फबाट समिति बनाएर खर्च गर्ने काम बाहेक अन्य काम गर्न सकेको छैन,’ कार्कीले भने ।

 

नेपालमा पर्यटक आउने सिजन सामान्यतः ६ महिनाको मात्र हुने गर्छ । यो ६ महिनामा २० लाख पर्यटक एकसाथ आउँदा उनीहरुलाई पोखरा र काठमाडौंका होटलमा मात्र अटाउन सकिन्छ । अन्य ग्रामीण भेगमा पर्यटकहरु बस्न उचित स्थानहरुको व्यवस्थापन हुन सकेको छैन ।

 

‘पर्यटन वर्षका लागि सरकारले जुन तरिकाले स्तरीय योजनाहरु बनाउनु पर्ने हो त्यस अनुसार गर्न सकेको छैन,’ कार्कीले भने । उनले भिजिट नेपाल २०२० का प्रमुख नै पर्यटन क्षेत्रको नभई ब्यापारिक क्षेत्रको भएका कारण समेत पर्यटन वर्षको तयारी राम्रो हुन नसकेको बताए ।

मूल्य आकाशिएपछि पसल फोडेर प्याज चोरी Read Previous

मूल्य आकाशिएपछि पसल फोडेर प्याज चोरी

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा Read Next

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा