निगमको स्वचालित मूल्य प्रणाली : घाटा हुँदा लागू, नाफा कमाउन स्थगन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा उपभोक्ता माथि महंगीको भार थपिएको छ । गत महिनादेखि अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत निगमले मूल्य समायोजन गरेको छैन । निगमले नाफा कमाउन अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नघटाएको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर कात्तिक १४ मा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएकोले उपभोक्तालाई राहत दिन स्वाचालित मूल्य प्रणाली स्थगन गरेर पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको बताउँछन् ।

‘कात्तिकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले उपभोक्ता माथिको भार कम गर्न सरकारको निर्देशनमा समायोजन नगरेर स्थिर राखेको हो,’ उनले भने, ‘त्यो बीचमा चाडपर्व भएकाले निगमले मूल्य समायोजन गरेन् । अहिले पनि समायोजन गर्दा एलपी ग्यासको मूल्य ३०० रुपैयाँ बढिपर्छ ।’

यसपटक भने पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने उनले बताए । गत कात्तिक १४ गते भारतीय आयल निगमले पठाएको पेट्रोलियम पदार्थको मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको थियो । सोही अनुसार निगमले मूल्य समायोजन गरेपछि सरकारले फिर्ता लिन निर्देशन दिएको थियो ।

त्यत्तिबेला दशैंतिहारको समय भएकोले नियमको मूल्य स्थिरीकरण कोषबाट दायित्व बेहोर्ने गरी स्वचालित मूल्य प्रणाली स्थगन गरेर पेट्रोलियम पदार्थको मूल्य त्यसअघिकै अवस्थामा राखेको थियो । तर, निगमले त्यसयता मूल्य समायोजन गरेको छैन । कात्तिक मसान्त र यो गत सातै मूल्य समायोजन गर्नुपर्ने भए पनि घटेको मूल्यको फाइदा उठाउँदै निगम नाफा कमाउनमा लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा त्यसयता निरन्तर कच्चा तेलको मूल्य घटेर आएको छ । अहिले निगमले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७२, डिजेल र मट्टीतेलको समान १६४/१६४ एलपी ग्यासको १८९५ रुपैयाँ लिइरहेको छ ।

भारतीय आयल निगमले नेपाल आयल निगमलाई महिनाको एक तारिख र ३० तारिखमा मूल्य समायोजन गरेर पठाउँछ । सोही अनुसार निगमले पनि प्रत्येक महिनाको १ गते र १५ गते अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यको उतारचढाव अनुसार समायोजन गर्दै आएको छ ।

यसपटक भने कात्तिक महिनाको पहिलो १५ दिनमा मूल्य समायोजन नगरेर स्थिर राखेको निगमले कात्तिक अन्तिममा समायोजन गर्नुपर्ने भए पनि सोही नीतिलाई निरन्तरता दिएको थियो । तेस्रो पटक भने मूल्य समायोजन हुने निगमका अधिकारीहरू बताउँछन् । अहिले निगमले तिर्नुपर्ने दायित्व कसल २६ अर्ब रुपैयाँ रहेको ठाकुरले बताए ।

घाटा हुँदा स्वचालित मूल्य प्रणाली, नाफा कमाउन स्थगन

आयल निगमले दोस्रो पटक कार्यान्वयनमा ल्याएको स्वचालित मूल्य प्रणालीमा मनपरी गरेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको जिम्मेवारी उपभोक्तालाई थोपर्ने र घटेर आउँदा मूल्य समायोजन नगर्दा स्वचालित मूल्य प्रणाली नै स्थगन गर्ने गरेकोे हो ।

गत साउनदेखि लागू गरेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली साढे दुई महिनामै गत असोजमा स्थगन गरेको थियो । त्यसअवधिमा केही समयको लागि समायोजन स्थगन गर्ने जनाएको निगमले दुई महिनासम्म सो प्रणाली लागू गरेको छैन ।

निगमले लागू गरेको स्वचालित मूल्य प्रणाली यसअघि पनि असफल बनाइएको थियो । पहिलो पटक २०७१ सालमा लागू गरेको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा आएको तीन महिनामै निगम आफैले पालना गरेन ।

त्यत्तिबेला अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले नाफा बचाउन मूल्य घटाउन नमानेपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ नै पंगु बन्न पुग्यो ।

९ वर्षपछि पुनः सो प्रणाली लागू गर्ने क्रममा २०८० असार ३१ मा निगम सञ्चालक समितिका अधिकारीले निगम सुधारको लागि स्वचालित प्रणाली कोशेढुंगा भएको बताएका थिए । तर, दोस्रो पटक पनि निगम आफैले स्वचालित मूल्य कार्यविधिको अवज्ञा गरेको छ ।

केही समयको लागि स्थगन गरिएको निगमको स्वचालित मूल्य प्रणालीले अब निरन्तर पाउने ठाकुरको भनाइ छ । ‘पूर्ण रूपमा स्वचालित मूल्य प्रणालीको हिसाबले समायोजन गर्ने हो भने एलपी ग्यासको मूल्य बढाउनुपर्ने हुन्छ । पेट्रोल, डिजेलमा पनि त्यही छ अवस्था,’ उनले भने, ‘अब यो स्वचालित प्रणालीले पुनः लागू हुन्छ ।’

विगतमा नोक्सानीमा गएको निगम पछिल्लो समय नाफा जान थालेको छ । २०७७ पुसदेखि नोक्सानीमा जान थालेको निगमले एक वर्षमै ५० अर्ब घाटा व्यहोरेको हो थियो । तर, पछिल्लो डेढ वर्ष लगातार नाफा कमाएको निगमले सो घाटा पूर्ति गरिसको छ । साथै, भारतीय आयल निगमको बक्यौता र बैंकबाट लिएको ऋण समेत तिरिसकेको छ ।

 

उखु किसानले अझै ३२ करोड अनुदान पाउन बाँकी Read Previous

उखु किसानले अझै ३२ करोड अनुदान पाउन बाँकी

एनएमबी बैंकका सेयरधनीको हात रित्तै, लाभांश नदिने Read Next

एनएमबी बैंकका सेयरधनीको हात रित्तै, लाभांश नदिने