काठमाडौं । बैंकिङ प्रणालीको निक्षेपमा मुद्दती निक्षेपको हिस्सा उच्च हुँदा बैंक तथा वित्तीय संस्थाको लागत बढ्दो छ । साधारण बचतको भन्दा मुद्दती निक्षेपको महंगो ब्याजदर तिर्नुपर्ने भएपछि बैंकको लागत बढेको हो ।
नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकिङ प्रणालीमा रहेको कुल निक्षेप मध्ये मुद्दती निक्षेपको हिस्सा ६०.२ प्रतिशत रहेको छ । यो हिस्सा वृद्धि हुँदै गएको छ ।
गत वर्षको असोज मसान्तसम्म यस्तो हिस्सा ५९ प्रतिशत रहेको थियो । पछिल्लो एक वर्षमा मुद्दती निक्षेपको हिस्सा १ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकका अनुसार २०७९ असारमा ५५.८ प्रतिशत, सोही वर्षको असोजमा ५९ प्रतिशत र २०८० को असारमा ५८.९ प्रतिशत मुद्दती निक्षेपको हिस्सा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले महंगो ब्याजदरमा निक्षेप उठाउँदा उनीहरूको लागत वृद्धि हुन्छ । बैंक तथा वित्तीय संस्थाको लागत उच्च हुँदा आधारदर बढ्दै जान्छ र त्यसले कर्जाको ब्याजदर महंगो बनाउँछ ।
अहिले वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.६३ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.५४ प्रतिशत दिइरहेका छन् । राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदरको अन्तर २ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसले ब्याजदरमा स्थायित्व, मूल्यवृद्धि र बैंकको लागतमा एकरुपता ल्याउने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । पूर्वबैंकर अनलराज भट्टराई मुद्दती निक्षेपको हिस्सा बढी हुँदा बैंकको लागत बढ्ने र त्यसले आधारदरमा हिट गर्ने बताउँछन् ।
‘बैंकको लागत बढ्दा त्यसले आधारदरमा हिट गर्छनै । तर, मुद्दती निक्षेप कति आवधिको हो भन्नेले फरक पार्छ,’ उनले भनेर्, यदी त्यसको परिपक्व हुने समय लामो छ भने तत्काल बयाजदर घटे पनि त्यसको घट्दैन, नयाँको घट्ने हो ।’
गत वर्ष निक्षेप तान्ने बैंकको होडबाजीले बैंकको निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याएको थियो । त्यसपछि बैंकको लागत उच्च वृद्धिहुँदा तयसको असर आधादर हुँदै कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो ।
गत फागुनयता भने बैंकहरूले कर्जा लगानी बढाउन निक्षेपको ब्याजदर घटाउँदै आएको छन् । बैंकहरूले पछिल्लो महिनाहरूमा निक्षेपको ब्याजदर घटाउँदै आए पनि संस्थागत मुद्दती निक्षेपको हिस्सा धेरै हुँदा लागत भने त्यसअनुसार घट्न सकेको छैन । जसको असर कर्जाको ब्याजदरमा देखिन अझै समय लाग्ने बैंकरहरू बताउँछन् ।
महंगो ब्याजदरमा निक्षेप बैंकहरूले उठाएका कारण लागत भने बढेको वाणिज्य बैंकका एक सीईओ बताउँछन् । ‘बैंकहरूको लागत अहिले पनि उच्च नै छ । महंगो ब्याजमा निक्षेप उठाएका छन् । त्यसले संस्थाको लागत बढाउने नै भयो,’ उनले भने, ‘त्यसमाथि मुद्दती निक्षेपको हिस्सा ६० प्रतिशतभन्दा बढी छ त्यसले संस्थागत लागत झनै बढाएको छ ।’
यद्यपि, पछिल्लो समय निक्षेपको ब्याजदर घटाउँदै लगेकाले अब कर्जाको ब्याजदरमा समेत त्यसको प्रभाव देखिने उनले बताए ।
राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर ९ गतेसम्म निक्षेप संकलन ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेकोमा चार महिनामा १ खर्ब ६६ अर्ब रुपैयाँले बढेको हो ।
तरलतामा सहज
मुद्दती निक्षेपले बैंकको लागत बढाए पनि लगानीको लागि भने सहज बनाउने जानकारहरू बताउँछन् । निश्चित अवधि तोकिएको हुने भएका कारण यसमा बचत गर्ने ऋणीहरूले जतिबेला पनि सो रकम निकाल्न पाउँदैनन् । जसको कारण बैंक तथा वित्तीय संस्थालाई तत्काल तरलताको अभावन हुँदैन । मुद्दती निक्षेप धेरै हुँदा त्यसमा संस्थागतको हिस्सा धेरै भए बैंक तथा वित्तीय संस्थालाई लगानीको लागि फाइदा हुने उनीहरूको भनाइ छ ।
मुद्दती निक्षेप धेरै र परिपक्व हुने अवधि लामो हुँदा यसले वित्तीय स्थायित्व र तरलतामा सहजता ल्याउने भट्टराई बताउँछन् ।
साधरण बचतको हिस्सा घट्दै
बैंकिङ प्रणालीमा बढ्दो बचतसँगै मुद्दती निक्षेपको हिस्सा बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले कुल निक्षेपमा बचतको हिस्सा २६.७ प्रतिशत रहेको छ । यो हिस्सा भने घट्दोक्रममा रहेको तथ्यांकले देखाउँछ ।
गत असार मसान्तमा २६.६ प्रतिशत साधारण बचतको हिस्सा रहेको थियो । बचतको हिस्सा घट्दा मुद्दतीको वृद्धि हुँदै गएको तथ्यांकले देखाउँछ । मानिसहरू साधारण बचतबाट धेरै ब्याजदर प्राप्त गर्ने उद्देश्यले बचत रकम मुद्दती निक्षेपमा राखिरहेको देखिन्छ ।
यसले ऋण लगानीभन्दा बैंकमा पैसा राखेर ब्याज खाने बढेको देखाउँछ । यो अवधिमा बैंकको कर्जा लगानी पनि वृद्धि भएको छैन ।