काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमै लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च गिरावट आएको छ । हाल सञ्चालनमा रहेका ५५ लघुवित्त वित्तीय संस्थामध्ये वित्तीय विवरण सार्वजनिक गरेका ५० वटाको खुद नाफा औसतमा ६८.७२ प्रतिशतले घटेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार ५० लघुवित्त कम्पनीले चालु आवको असोज मसान्तसम्म कुल ४९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन कमाएका छन् । यो गत वर्षको सोही अवधिकोभन्दा १ अर्ब ९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी लघुवित्त कम्पनीहरूले १ अर्ब ५८ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
वित्तीय विवरण सार्वजनिक गरेका ५० लघुवित्त मध्ये जम्मा ५ लघुवित्तकाे मात्र नाफा बढेकाे छ भने ४५ वटाकाे घटेकेा छ । नाफा घटेका ४५ मध्ये १७ वटा घाटामै गएका छन्र ।
अर्थतन्त्रमा देखिएको शिथिलता र लघुवित्त विरुद्धका गतिविधिले व्यवसायमै धक्का लागेको हो । लघुवित्त कम्पनीहरूको खुद ब्याज आम्दानी घटेको छ भने ऋण असुली प्रभावित हुँदा सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजनिङ रकम बढेको छ । अर्कोतिर लघुवित्तबाट लिएको ऋण नतिर्ने, मिनाहा हुनुपर्ने माग सहित विभिन्न आन्दोलनका गतिविधिहरू समेत भइरहेका छन् । सोही कारण लघुवित्तका वित्तीय सूचकहरू कमजोर भएको लघुवित्तकर्मीहरू बताउँछन् ।
पछिल्लो दुई वर्षयता अर्थतन्त्रमा देखिएको संकले बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी बढाउन सकेका छैनन् । पहिलो त्रैमासमै यसको असर वाणिज्य, विकास बैंकहुँदै लघुवित्त कम्पनीसम्म देखिएको छ । बजारमा माग र आपूर्तिमा समस्या आउँदा संस्थाहरूले व्यवसाय बढाउन सकेको देखिँदैन । लगानी गरेको ऋण समेत समयमै चुक्ता नहुँदा खराब कर्जा दोब्बर बढीले वृद्धि भइरहेको छ ।
डेढ दर्जन लघुवित्त घाटामा
वित्तीय विवरण सार्वजनिक गरेका ५० लघुवित्तमध्ये १७लघुवित्त वित्तीय संस्था घाटमा गएका छन् । अधिकांश लघुवित्तको नाफा घट्दा यी संस्थाहरू भने घाटामै गएका हुन् । यस वर्ष घाटामा गएका लघुवित्त मध्ये कतिपय गत वर्ष नाफामा थिए ।
पहिलो त्रैमासको यस वित्तीय विवरण अनुसार सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था १४ करोड रुपैयाँ घाटामा गएको छ । गत वर्षको सोही यस संस्थाले ३ करोड २५ लाख नाफामा कमाएको थियो । फरवार्ड माइक्रोफाइनान्स ११ करोड घाटामा गएको छ ।
गत वर्षको पहिलो त्रैमासका यस संस्थाले ६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । मेरो माइक्रोफाइनान्स ६ करोड २५ लाख रुपैयाँ घाटामा गएको छ । यस लघुवित्तले गत वर्षको सोही अवधिमा २ करोड ५५ लाख खुद नाफा कमाएको वित्तीय विवरणले देखाउँछ ।
किसान लघुवित्त र मेरो माइक्रोफाइनान्स ४/४ करोड रुपैयाँ बढी घाटामा छन् । गत वर्षको सोही अवधिको तुलनामा यी संस्थाहरूको नाफामा झनै गिरावट आएको छ ।
गत वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको मिर्मिरे लघुवित्त यसपाली ३ करोड ९९ लाख रुपैयाँले नोक्सानीमा गएको छ ।
धौलागिरि २ करोड, अभियान २ करोड ८३ लाख, उपकार ३ करोड ३७ लाख, जाल्पा सामुदायिक १ करोड ६४ लाख, मानुषि लघुवित्त १ करोड १२ लाख, मनकामना स्मार्ट १ करोड ४२ लाख, स्वाभिमान १ करोड ९८ लाख, वीन नेपाल १५ लाख र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था १ करोड २६ लाख रुपैयाँ नोक्सानीमा रहेको छन् ।
कुनले कति कमाए नाफा ?
पहिलो त्रैमासमा सबैभन्दा धेरै साना किसान लघुवित्त वित्तीय संस्थाले खुद नाफा ३० करोड १४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा ३२ करोड २७ लाख रुपैयाँ कमाएको लघुवित्तको नाफा ६.६ प्रतिशतले घटेको हो ।
छिमेक लघुवित्तले २२ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा संस्थाले ३२ करोड ९१ लाख रुपैयाँ कमाएको थियो । जीवन विकास १२ करोड, डेप्रोक्स ८ करोड, नेशनल लघुवित्त ५ करोड ५० लाख, फर्स्ट माइक्रोफाइनान्स ५ करोड, एनआइसी एसीया लघुवित्तले ४ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेको छ ।
पहिलो त्रैमासमा ग्रामीण विकास ३ करोड ४५ लाख, ग्लोबल लघुवित्त ३ करोड ४० लाख, स्वाबलम्बन ३ करोड १८ लाख, सामुदायिक २ करोड ९४ लाख, आशा लघुवित्त २ करोड ६४ लाख, स्वरोजगार १ करोड ९६ लाख, नेरुडे, माहुली, विजय, सूर्योदय र महिला लघुवित्तहरूले १/१ करोड रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।