काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढीमा सुक्खा बन्दरगाह (ड्राइ पोर्ट) निर्माणले गति लिन थालेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा निर्माण भइरहको सुख्खा बन्दगाह निर्माणको काम हालसम्म ४५ प्रतिशत सम्पन्न भएको हो ।
चीन सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको यस आयोजनामा हालसम्म रिटेन्डिङ वाल, जमिन सम्याउने, इन्ट्री, एक्जिट, भवनका लागि फाउन्डेसन बनाउने काम सकिएको समितिले जनाएको छ ।
समितिका सिभिल इन्जिनीयर शोभाकान्त रावतले मुख्य भवनको फाउन्डेसन बनाउने तयारी भइरहेको बताए । उनले वेयरहाउसको फाउन्डेसन खन्ने काम भइसकेको जानकारी दिए ।
‘४५ प्रतिशत काम पूरा भइसकेको छ, मुख्य भवनको फाउन्डेसन सुरू भएको छैन, त्यो पनि चाँडै सुरू हुन्छ,’ रावतले चाणक्य पोष्टसँग भने ।
दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । सन् २०२५ सम्म बन्दरगाह निर्माण सक्ने गरी तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले बन्दरगाह निर्माणको काम गरिरहेको छ । बन्दरगाहको लागत २ अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ ।
यो सुक्खा बन्दरगाह निर्माणको काम २०७६ मंसिरबाट सुरू भएको थियो । कोरोना संक्रमणका कारण लामो समयदेखि अघि बढ्न नसकेको यो अयोजनाले पछिल्लो समय भने गति लिएको हो । नेपाल र चीन बीचको महत्वपूर्ण रसुवा नाका निर्माणपछि व्यापार लागत घट्नुका साथै नियमित रूपमा सामान आउने इन्जिनीयर रावतलको भनाइ छ ।
बन्दरगाह बनेपछि भारतको विशाखापट्ना हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउन सक्नेछ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको छ । रसुवा नाकाबाट सामान आउँदा १० दिनमा सामान काठमाडौं आइपुग्नेछ । यसले बजारमा पाउने उपभोग्य वस्तुको मूल्य घटाउने छ ।
कस्तो बन्छ बन्दरगाह ?
२ हजार ८० वर्गमिटरमा फैलिएको यो सुक्खा बन्दरगाहभित्र कार्गो गोदाम, २ वटा भवन, इमिग्रेसन, एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैंक र सुरक्षा निकायसहित पार्किङको समेत व्यवस्था हुनेछ ।
बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठूला कन्टेनर अटाउने छ । बन्दरगाहको ४०० वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन बन्ने छ भने ७५० वर्गमिटरमा गोदाम बन्ने छ । उक्त बन्दरगाहमा ३५० वटा कन्टेनर अट्ने छन् । जाँचपास बिन्दु २ वटा हुने छन् ।
हाल चीनसँगको व्यापार कारोबार तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट हुँदै आएको छ । चीनले भूकम्पपछि भने रसुवा नाकाबाट मात्र सामान पठाउने काम गरिरहेको छ । रसुवा नाकाबाट दैनिक २० देखि ३० कन्टेनर सामान आयात हुँदै आएको भन्सार विभागले जनाएको छ ।