काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मानपत्र प्रदान गरेका थिए ।
ग्लोबल आइएमई विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।
आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।