बजेटको व्यवस्थाले सिमेन्टको वैदेशिक व्यापारमा उछाल, निर्यात ३१ गुणा बढ्यो

काठमाडौं । वैदेशिक व्यापारमा समग्र निर्यात घटिरहेको बेला सिमेन्ट निर्यातले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)सम्म नेपालबाट हुने निर्यात झन्डै ८ प्रतिशतले घटे पनि सिमेन्ट निर्यात भने ३ हजार प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार चालु आवकोे चार महिनामा गत वर्षभरीको भन्दा ३५ करोड धेरैको सिमेन्ट निर्यात भएको हो । चालु आव २०८०/८१ को चार महिना (साउन-कात्तिक)मा झन्डै सवा करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको विभागको तथ्यांक छ ।

विभागका अनुसार कात्तिक मसान्ससम्म कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ । जसमा ५८ करोड ५७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट रहेको छ ।

चालु वर्षको कात्तिकसम्म गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ९ करोड रुपैयाँ बढी बराबरको सिमेन्ट निर्यात्त भएको छ । गत आवको चार महिनामा ३ करोड ६० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको विभागले जनाएको छ । गत वर्षभरी ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।

भारतीय बजारमा बढ्दो सिमेन्टको मागका कारण निर्यातमा देखिएको उत्साहले व्यापार असन्तुलनको खाडल कम गर्न आशा जगाएको हो । आन्तरिक बजारमा सिमेन्टको माग बढ्न नसके पनि भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै गएको उद्योगीहरू बताउँछन् ।

साउन, भदौ, असोजतिर बर्खायाम र कात्तिकमा चाडपर्व हुँदा पूर्वाधार निर्माण कम हुने भएकाले सिमेन्ट खपतका लागि अफ सिजन मानिन्छ । मंसिरपछि आयोजना निर्माणको ठेक्का प्रक्रिया सकिएर काम अघि बढ्छ । आगामी महिनामा सिमेन्ट निर्यात झनै बढ्ने उद्योगीहरू बताउँछन् ।

नीतिगत डिपार्चर

सरकारले सिमेन्ट निर्यात सुरू गरेको १६ महिना भएको छ । यो अवधिमा निर्यात गर्ने उद्योगको संख्या चार पुगेको छ । २०७८ असार २४ गते पहिलोपटक पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू भएको थियो । त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात सुरू गरेका छन् ।

आन्तरिक बजारको मागभन्दा धेरै उत्पादन हुँदा सिमेन्ट निर्यातको बाटो सरकारले गत वर्ष खोलेको थियो । सरकारले आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुडलगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरू गरेका हुन् ।

सरकारको यस नीतिले आन्तरिक बजारको मागभनदा धेरै सिमेन्ट उतपादन गरिरहेका उद्योगलाई निर्यातमा थप टेवा पुगेको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ ।अझै थप उद्योग सिमेन्ट निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणपत्रको पर्खाइमा रहेको सिमेन्ट उत्पादकहरू बताउँछन् ।

अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।

नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

कुन महिना कति निर्यात ?

चालु आवको सबैभन्दा धेरै सिमेन्ट तथा क्लिंर निर्यात असोजमा ४३ करोड ४६ लाख रुपैयाँ बराबरको भएको थियो । कात्तिकमा २७ करोड ७७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरको क्लिंकर तथा सिमेन्ट निर्यात भएको थियो । २०७९ साउनदेखि सुरू गरेको सिमेन्ट तथा क्लिंकर निर्यात पहिलो महिना ४९ लाख र भदौमा ४० लाख रुपैयाँ बराबरको भएको थियो ।

२०७९ को असोजमा १ करोड ३६ लाख, कात्तिक १ करोड ३५ लाख, मंसिर ९१ लाख, पुसमा ४ करोड २० लाख, माघमा ८ करोड ७ लाख, फागुनमा १३ करोड ७६ लाख, चैतमा ११ करोड ७६ लाख रुपैयाँ बराबरको सिमेन्टजन्य वस्तु निर्यात भएको थियो ।

२०८० वैशाखमा १३ करोड १२ लाख, जेठमा १२ करोड ३२ लाख र असारमा १० करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरिएको विभागको तथ्यांक छ ।

 

नेप्सेमा ३८ अंकको उतरचढाव, १६१ कम्पनीको मूल्य बढ्यो Read Previous

नेप्सेमा ३८ अंकको उतरचढाव, १६१ कम्पनीको मूल्य बढ्यो

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक Read Next

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक