काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन सुधार आएको छ । बुधबार २० अंकले बढेको नेप्से आज झन्डै दोहोरो अंकले बढेको हो ।
आज सेयर बजारमा तीव्र उत्तरचढाव आएको छ । बजार खुल्ने बित्तिकै २४ अंकले घटेको नेप्से बीचमा १४ अंकले बढेको थियो भने अन्त्यमा झन्डै १० अंकले बढेर बन्द भएको हो । दिनभरमा नेप्सेमा ३८ अंकको उत्तरचढाव आएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोडले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगेको छ । यसदिन २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका मध्ये १६१ कम्पनीको मूल्य बढेको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० को परिसूचक बढेको छ भने ३ को घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढेको छ ।
आज नबिल बैंकको सेयर सर्वाधिक किनबेच भएको छ । यसको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नबिलले आजै मात्र गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बढ्दोे बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, थ्रीस्टार हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर र सानिमा रिलायन्स इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नबिल बैंकका सेयरधनीले भने सर्वाधिक ८.२० प्रतिशत गुमाएका छन् ।