जंक फूडको आयात बढ्दो, ३ महिनामै बाहिरियो ३१ करोड

काठमाडौं । पछिल्लो समय बालबालीका लगायत युवा जमातमा समेत जंक फुडले प्राथमिकता पाउन थालेको छ । स्कुलमा खाजा, साथीहरुसँग लेज र कुरकुरे पिकनिकमा चिजबल र घरमा सजिलो चाउचाउ !

 

घरमा केही पकाउने भन्दा पनि बजारबाट किनेर खाने प्रबृत्ति बढ्दो छ । मानिसहरुमा बजारी जंक फूडमा निर्भर हुने संस्कृति बढि रहेको छ । यस्तो संस्कृतिले मानिसहरुको स्वास्थ्यमा प्रतिकूल असर त पारेकै छ, त्यसका अलावा ठूलो संख्यामा नेपाली मुद्रा पनि विदेशिरहेको छ ।

 

सरकारले विद्यालयहरुमा जंक फुडले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै निषेध गरेको छ । धेरै जसो विद्यालयमा बाहिरी जकं फूड खान नदिई क्यान्टिनको खाना वा घरमै बनाएको खाना खानु पर्ने व्यवस्था गरेको छ । यद्यपी त्यसको प्रभावकारीतामा भने प्रशस्तै प्रश्न उठाउन सकिन्छ ।

 

चालु आर्थिक वर्षको ३ महिनामा जंक फूड आयातकै क्रममा ३१ करोड ९९ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । कुरकुरे, लेज, कुरमुरे, चिजबल लगायतका जंक फुडहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

गत आर्थिक वर्ष २०७५/७६ को असोज मसान्तसम्ममा १३ करोड १२ लाख रुपैयाँ बराबरको जंक फूड आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा जङ फूडको आयात दोब्बरले बढेको हो ।

 

गत आर्थिक वर्षमा कूल ४८ करोड ९६ लाख ९१ हजार रुपैयाँ बराबरको जंक फूड आयात भएको थियो । जंक फूड आयातका क्रममा २५ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७४/७५ मा कुल ५५ करोड ७९ लाख ९६ हजार रुपैयाँ बराबरको कुरकुरे आयात भएको थियो । सो आयातका क्रममा २६ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७३/७४ मा कुल ४८ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको जंक फूड आयात भएको थियो । सो आयातका क्रममा २२ करोड ९९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

नेपालमा भारत, दक्षिण कोरिया र बङगलादेशबाट यस्ता जंक फुड बढि आयात हुने गरेका छन् । यस्ता जंक फुडहरु सबैभन्दा बढि भारतबाट आयात हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ ।

 

चालू आर्थिक वर्षको ३ महिनामा भारतबाट मात्र १५ करोड ४१ लाख ५५ हजार रुपैयाँ बराबरको जंक फूड आयात भएको छ ।दक्षिण कोरियाबाट यो ३ महिनामा १० लाख ३४ हजार रुपैयाँ बराबरको जंक फूड आयात भएको छ भने बंगलादेशबाट ७ लाख रुपैयाँ बराबरको जंक फूड आयात भएको छ ।

 

जंक फूड निरउत्साहित पार्न कर बढाउने देशहरु

 

विश्वमा यस्ता देशहरु पनि छन् जसले जंक फूड निरउत्साहित गर्न कर बढाएका छन् । भारतको केरला, मेक्सिको, चिली, जापान, फ्रान्स, नर्वे, अष्ट्रेलीया, अमेरिका लगायतका विभिन्न देशहरुले जंक फूड उपभोग निरउत्साहित गर्न त्यसमा कर बढाएका छन् ।

 

केरलाले जंक फूड उपभोगमा १३.५ देखि १४.५ प्रतिशतसम्म कर लिने गरेको छ ।मेक्सिको सरकारले जंक फूडको मूल्यमा ५ देखि ६ प्रतिशतसम्म कर लगाएको छ ।

 

चिलीमा सन् २०१२ मै जंक फूड प्याकेजीङमा निषेध गरिएको छ । विशेष गरी निम्न माध्यामिक तहका स्कुले विद्यार्थीलाई जंक फूड उपभोग गर्न निषेध गरिएको छ ।

 

यस्तै जापानले सन् २००८ मा जंक फूड उत्पादक उद्योगमा कर वृद्धि गरेको थियो । जापानले जंक फूड उत्पादक उद्योगमा ३.५ प्रतिशत कर लगाएको हो ।

 

फ्रान्सले जंक फूडमा २० प्रतिशत कर लगाएको छ ।नर्वेमा सन् २०१३ देखि १६ वर्ष मुनिका बालबालीकालाई जंक फूड उपभोगमा निषेध गरिएको छ ।यस्तै अष्ट्रेलिया, अमेरिकाले पनि जंक फूड उद्योगहरुमा करको दायरा बढाएका छन् ।

हकप्रदमा नबिकेको सेयर लिलामीमा आउने संभावना न्यून Read Previous

हकप्रदमा नबिकेको सेयर लिलामीमा आउने संभावना न्यून

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्चभित्रै सञ्चालनमा ल्याउने Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्चभित्रै सञ्चालनमा ल्याउने