मैद्रिक नीति समीक्षाको तयारीमा राष्ट्र बैंक, अर्थतन्त्रका मुख्य समस्या सम्बोधन गर्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत कडाइ खुकुलो बनाउँदै लगे पनि अर्थतन्त्रको आन्तरिक शिथिलता कायम छ । बजारमा माग र लगानीमा देखिएको संकुचनले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्र चलायमान हुन सकेको छैन ।

चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले आर्थिक गतिविधिमा देखापरेको सुस्तातालाई सम्बोधन अपेक्षा थियो । तर, नियामक निकायले लगानी र माग संकुचित गर्न लिएका नीतिगत उपकरण हटाउँदा समेत अर्थतन्त्र चलायमान हुन नसकेको हो । मौद्रिक नीतिपछि क्रमशः नीतिगत लचकता लिइरहेको राष्ट्र बैंक पहिलाको त्रैमासको मौद्रिक समीक्षाको तयारीमा छ ।

समीक्षाबाट राष्ट्र बैंकले अझै लचिलो नीति लिने निजी क्षेत्रको अपेक्षा र सुझाव छ । तर, अहिलेकै अवस्थामा राष्ट्र बैंकले लचिलो नीति लिएर मात्रै अर्थतन्त्र चलायमान नहुने धारणाा अर्थशास्त्रीहरू राख्छन् ।

राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशक अहिले राष्ट्र बैंकलेको खुकुलो नीतिले बजार चलायमान गराउन सहयोग गर्ने तर खास समस्या सम्बोधन नहुने बताउँछन् । ‘मौद्रिक उपकरणले मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन । खुकुलो नीतिले केही समय बजारमा माग बढ्ला तर त्यसपछि फेरि उहीँ कुरा दोहोरीन्छ,’ उनले भने, ‘अर्थतन्त्रको मुख्य समस्या हटाउनबाट सबै चुके । यो अवसर पनि थियो ।’

उत्पादन बढाएर रोजगारी सिर्जना गर्नुपर्ने नीति घरजग्गार सेयरमुखी बनिदिँदा फेरि यस्तै समस्या आइरहने उनले बताए ।  पूँजीको परिचालनमा समस्या रहेको र त्यसकारण लगानी बढ्न नसकेको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउन सकेका छैनन् । उच्च ब्याज, लगानीकर्ताको मनोबलमा आएको कमी, शिथिल बजार लगायतका कारणले अर्थतन्त्र माथि उठ्न नसकेको विज्ञहरूको धारणा छ ।

अर्थतन्त्रमा देखा परेका यी परिदृष्यहरूले सरकार र निजी क्षेत्रलाई झस्काएको छ । सोही कारण गत मंगल र बुधबार अहिलेको आर्थिक संकटका बारेमा  प्रधानमन्त्री, अर्थमन्त्री लगायतले उच्च सरकारी अधिकारीले प्रधानमन्त्री कार्यालयमा विज्ञ र निजी क्षेत्रसँग छलफल गरेका छन् ।

अर्थशास्त्री रघुवीर विष्ट राष्ट्र बैंकले लचिलो नीति लिए पनि व्यवहारमा त्यसको प्रभाव नदेखिएको बताउँछन् । ‘चालू वर्षको मौद्रिक नीतिबाटै राष्ट्र बैंकले लचिलो नीति लिन थमलेको हो । तर, बजारमा त्यसको प्रभाव देखिएन,’ उनले भने, ‘राष्ट्र बैंककै नीतिप्रति बैंक तथा वित्तीय संस्थाले पत्याएनन् । अहिले ऋण लगानीका लागि पर्ख र हेरको अवस्थामा छन् ।’

पूर्वबैंकर अनलराज भट्टराई कोभिडको समयमा राष्ट्र बैंकले दिएका सहुलियत व्यवस्था एकैपटक बन्द गर्दा समस्या आएको र अब नीतिगत समीक्षा गर्नुपर्ने बेला आएको बताउँछन् । ‘कोभिडको समयमा दिइएको सहुलियत कर्जा व्यवस्था लामो समय दिइएन् त्योबेला ठिक थियो तर एकैपटब बन्दा गरियो,’ उनले भने, ‘यसले गर्दा अन्य क्षेत्रमा समेत समस्या देखियो र बैंकहरूसित पूँजी भएर पनि लगानी गर्नसक्ने अवस्थ बनेन । अब यसको नीगित समीक्षा जरुरी छ । सुधार हुँदै जान्छ ।’

नेपालको अर्थतन्त्रमा आन्तरिक नीति कडाइ गरे पनि मूल्यवृद्धिमा धेरै फरक नपर्ने भएकाले राष्ट्र बैंकले लचिलो नीति लिनुपर्ने अवस्था आएको उनले बताए ।

निजी क्षेत्रको माग

प्रधानमन्त्री, अर्थमन्त्री लगायत उच्च सरकारी अधिकारीसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले खासगरी सरकारले पूँजीगत खर्च बढाउनुपर्ने, लगानी भित्र्याउन अनुकूल वातावरण बनाउनु पर्ने माग राखेका छन् ।

कर्जा लगानीमा खुकुलो व्यवस्था, ब्याजदर घटाउनुपर्ने, सहुलियत र पुर्नर कर्जाको व्यवस्था, चालु पूँजी कर्जामा संशोधन, नियमनमा लचकता लगायत नीतिगत व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट गर्न सक्ने सुझाव सरकारलाई दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल कोभिडपछि कोभिडपछि संकुचनकारी नीति लिइएको र त्यसपछि सुधारको उपाय नलिँदा थप समस्या देखिएको बताउँछन् ।

‘पहिलो हामी कोभिड पछिको तीव्र आर्थिक विस्तारबाट धेरै आँत्तियौं र निजी क्षेत्रलाई संकुचित बनाई माग घटायौं । असहज आर्थिक अवस्थामा सरकारले खर्च बढाउनु पर्नेमा खर्च कटौतीको नीति लियो । यसले समस्यालाई थप बढाउने काम गर्यो,’ अर्थतन्त्रको संकटबारे सरकारले गरेको छलफलमा उनले भने, ‘दोस्रो कुरा, समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि सुधारको उपाय अवलम्बन गरेनौं । बजेट र मौद्रिक नीतिका लागि सबै निजी क्षेत्रले संयुक्त रूपमा सुझाव दियौं । तर सुनुवाइ हुन सकेन ।’

सरकारी निकायहरू बीच समन्वय नभएको र निजी क्षेत्रले दिएका सुझावहरू कार्यान्वयन नगर्दा अहिलेको समस्या आएको उनले बताए ।

निष्कृय वित्त नीति

सरकारको वित्त नीति निष्कृय प्रायः रहेको अर्थशास्त्रीहरू बताउँछन् । अर्थतन्त्रको संरचना र सुधार गर्नुपर्ने मुख्य नीतिले काम नगर्दा त्यसको भार मौद्रिक नीति माथि थपिएको उनीहरूको भनाइ छ ।

वित्त नीतिले वातावरण बनाएपछि मात्रै मौद्रिक नीतिले अर्थतन्त्रका अन्य क्षेत्रमा काम गर्ने विष्ट बताउँछन् ।  ‘बजेटमा ल्याइएका नयाँ व्यवस्था कार्यान्वयनमा आएको देखिँदैन । सरकारले निर्माण गरेका आयोजनाहरूको समेत भुक्तानी गर्न दिन सकेको छैन भन्ने सुनिन्छ । अर्कोतिर बजेट कार्यान्वयनको अवस्था नाजुक छ,’ उनले भने,  ‘यो सबैले गर्दा बजारमा पूँजी परिचालन भएन र उत्पादन बढ्न सकेन् । उत्पादन वृद्धि नहुँदा मानिसले रोजगारी पाएनन् । आय बढेन् । यो समस्या वित्त नीतिको हो । त्यसले वातावरण बनाइदिएन भने मौद्रिक नीतिले मात्रै काम गर्न सक्दैन ।’

सरकारले बजेट मार्फत घोषणा गरेका अधिकांश योजना तथा कार्यक्रमहरू कार्यान्वयन हुँदैनन् । आम्दानी र खर्चको लागि तय गरेको लक्ष्य समेत पूरा गर्न नसक्दा त्यसले अर्को समस्या निम्त्याइरहेको छ ।

सरकारको आम्दानी र खर्च बीचको खाडल बढ्दो छ भने विकास बजेट वर्षमा ६० प्रतिशत समेत खर्च गर्न सक्दैन । बजेट मार्फत तय गरेका आर्थिक लक्ष्य र सूचकहरू हाँसिल गर्न नसक्दा बजारमा पूँजी परिचालन माग र आपूर्तिमा समेत असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।

 

उच्च प्रजनन क्षमताका १५ मुर्रा राँगा नेपाल ल्याइए Read Previous

उच्च प्रजनन क्षमताका १५ मुर्रा राँगा नेपाल ल्याइए

टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने संस्था, व्यक्तितर्फ विजयकुमार शाह Read Next

टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने संस्था, व्यक्तितर्फ विजयकुमार शाह