कमजोर बन्दै नेपाली मुद्रा, डलरले बनायाे हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरि हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले बुधबार नेपाली मुद्राको सटहीदरमा इतिहासकै महँगो बनेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा पुग्दै हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । यसअघि गत कात्तिक २५ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा पुगेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३३ रुपैयाँ ८ पैसा तोकेको छ । विश्व बजारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदाको त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्वव्यापी रूपमा डलरको माग बढेसँगै लगातार यसको मूल्य आकाशिँदै गएको जानकारहरू बताउँछन् । डलर विश्वव्यापी रूपमा भुक्तानी गर्न प्रयोग हुने मुद्रा हो । त्यसैले हरेक देशले डलरको संचिति बढाउन तर्फ ध्यान दिएका हुन्छन् । साथै, डलरमाथिको अन्तर्राष्ट्रिय विश्वनियताले पनि यसको माग बढ्दै गएको हो । माग बढेपछि डलरको भाउ बढ्ने गरेको छ ।

जब अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक वा अन्य कारणले संकट आउँछ त्यसपछि तरलताको दबाब बढ्छ । डलरमा लगानी गरे जतिबेला पनि काम लाग्छ भन्ने सोचाइ संसारभरका देशहरूमा हुन्छ । अहिले इजराजय र हमास बीचको युद्धले मध्यपूर्वमा संकट निम्त्याएको छ । डलरमा गरिएको लगानी तुलनात्मक रुपमा सुरक्षित मानिने चलन रहेकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।

नेपाली अर्थतन्त्रमा कस्तो पर्छ असर ?

अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरु बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सन् २०२३ को १० महिनामा ८ लाख बढी पर्यटक नेपाल भिएका छन् । सेम्टेम्बर महिनामा मात्रै कीर्तिमानी १ लाख १७ हजार बढी पर्यटक नेपाल आएका छन् । अहिले पर्यटकी सिजन भएकाले आगामी महिनाहरु पनि पर्यटक आवगमने बढ्ने अपेक्षा छ । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

त्यस्तै, वैदेशिक रोजगरीमा गएका नेपालीहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।

अर्थतन्त्र सुधार्न सरकार र राष्ट्र बैंकले तत्काल यी २१ काम गर्नुपर्छ : अध्यक्ष ढकाल Read Previous

अर्थतन्त्र सुधार्न सरकार र राष्ट्र बैंकले तत्काल यी २१ काम गर्नुपर्छ : अध्यक्ष ढकाल

गाडी किन्न ग्लोबल आइएमई बैंकले १०.९९% ब्याजमा ऋण दिने, ७ वर्षसम्म ब्याज नबढ्ने Read Next

गाडी किन्न ग्लोबल आइएमई बैंकले १०.९९% ब्याजमा ऋण दिने, ७ वर्षसम्म ब्याज नबढ्ने