काठमाडौं । नेपाली सेयर बजारमा पहिलो पटक बुक बिल्डिङ विधिबाट प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुला भएको छ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ६० लाख कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बिक्री खुला गरेका हो ।
कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँसम्म आइपीओ बेच्न लागेको हो । योग्य संस्थागत लगानीकर्ताहरुले यही मूल्यको बीचमा रहेर बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।
कम्पनीको सेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रीतपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।
बोलपत्र पेश भएको भोलिपल्ट कम्पनीको सेयर मूल्यको कट अफ प्राइस निर्धारण हुनेछ । र, कट अफ मूल्य वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको सेयर बाँडफाँट गरिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लोबल आइएमई क्यापिटल लिमिटेड, सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।
कम्पनीको सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँदछ ।
कम्पनीद्धारा संचालित सिमेन्ट उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । सो उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। उद्योगको प्रतिदिन उत्पादन क्षमता ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।