काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार (मंसिर ५ गतेसम्म) सुरुङ खन्ने काम ९६.४० प्रतिशत सम्पन्न भएको हो ।
अब सुरुङ खन्ने काम करिब साढे ३ प्रतिशत मात्र बाँकी रहेको छ । आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु हुन बाँकी छ भने आपतकालीन सुरुङ गत साउन २२ गते नै ब्रेक थ्रु गरिएको थियो ।
नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २४८७.४० मिटर खनिसकिएको छ । अब २००.६० मिटर मात्र सुरुङ खन्न बाँकी आयोजनाका निर्देशक नवीनमान श्रेष्ठले बताए ।
उनका अनुसार कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ५ हजार २९८.४० मिटर निर्माण सम्पन्न भएको हो ।
अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको उनले बताए । मुख्य सुरुङ फिनसिङको काम ५१.५० प्रतिशत सकिएको उनले जानकारी दिए । हालसम्म १३८५.५० मिटर सुरुङ फिनसिङ गरिसकिएको छ ।
आयोजनाको हालसम्म समग्रमा ६५.३५७ प्रतिशत भौतिक प्रगति र ६०.८२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।
११ वटा संरचना निर्माण पूरा
नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । हालसम्म फ्लाइओभरको ५ वटा फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा हालसम्म ३ वटा सम्पन्न भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।
पुस भित्रै ब्रेक थ्रु हुने
आयोजना निर्देशक श्रेष्ठले मुख्य सुरुङ पुस भित्रै ब्रेक थ्रु हुने बताए । यही गतिमा सुरुङ खन्दा अबको डेढ महिना भित्र ‘ब्रेक थ्रु’ हुने उनले बताए । ‘अब २०० मिटर मात्र सुरुङ खन्न बाँकी छ । अहिले दैनिक ५/६ मिटर सुरुङ खन्ने काम भइरहेको छ । यही गतिमा सुरुङ खन्दा पुसभित्र ब्रेक थ्रु गर्छौं,’ उनले भने ।
४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । कोरोनाका कारण तोकिएकै समयमा काम नसकिएपछि १ वर्ष म्याद थप गरिएको छ । थपिएको म्याद अनुसार सन् २०२४ अप्रिल २६ सम्म काम सम्पन्न गर्नुपर्नेछ ।
नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ । धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।