काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडकखण्डमा कालोपत्र सुरू गरिएको छ । दुईखण्डमा विभाजन गरी विस्तार थालिएको कुल ८६.८२ किलोमिटर लामो यो सडकको दुवै प्याकेजमा कालोपत्र सुरू गरिएको हो ।
कञ्चनपुर–कमला सडक विस्तार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले दुवै खण्डमा कालोपत्रको काम सुरू भइसकेको बताए । हाल सिराहाको धनगढी र लहानतर्फ सडक कालोपत्रको काम सुरू गरिएको छ । उनले चालु आवमा ३२ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार अबको डेढ वर्षमा कंचनपुर–कमला सडक खण्ड कालोपत्र पूरा हुने छ । ‘सडकको दुई खण्डमा नै हामीले कालोपत्र सुरू गरिसकेका छौँ, यो वर्ष २० प्रतिशत मात्र कालोपत्र हुनेछ, बाँकी आगामी वर्षभरी सक्ने छौँ,’ उनले चाणक्य पोष्टसँग भने ।
कालोपत्रका लागि २६ किलोमिटरमा सब बेस बिछ्याइसकिएको आयोजनाका प्रमुख श्रेष्ठले जनाएको छ । ६.५ किलोमिटरमा बेस निर्माणको काम पूरा भइसकेको छ । यस्तै ८७ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।
पश्चिमखण्डको सिरहाको बलानदेखि कमलासम्म कुल ४७ किलोमिटर सडक निर्माण काम सुरू भइसकेको छ । यस खण्डमा नयाँ प्रविधिबाट कालोपत्र गरिने जनाइएको छ । उक्त खण्डमा कालोपत्रका लागि कालोपत्रैको प्लान्ट बनाएर कालोपत्रको काम सुरू गरिएको छ ।
आयोजनाको पूर्वी खण्डमा कञ्चनपुरदेखि कुशाहसम्म ३९ किलोमिटर कालोपत्रको काम सुरू भइसकेको श्रेष्ठले जानकारी दिए । आयोजनामा कुल ४२ वटा ठूला पुलहरु निमाणधीन रहेका छन् ।
२०७७ कात्तिकदेखि स्तरोन्नति थालिएको यस सडकको हालसम्म ३५ प्रतिशत मात्र काम सकिएको छ । हाल दुई लेनमा रहेको यस सडक चार लेन बनाउन लागिएको हो ।
आयोजनाको ठेक्का म्याद गत कात्तिक ११ गते नै सकिएको छ भने अझै ६५ प्रतिशत काम बाँकी छ । तोकिएकै समयमा काम सम्पन्न नभएपछि म्याद थप प्रक्रिया अघि बढाइएको र फिल्डमा पनि काम निरन्तर भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।
भ्याट सहित १५ अर्ब ६६ करोड रुपैयाँमा निर्माण सम्पन गर्ने गरी सुरू भएको यो आयोजनामा हालसम्म साढे २ अर्ब रुपैयाँ खर्च भएको उनले बताए । यो सडक एशियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण भइरहेको हो ।