सेयर बजार सुधारको लागि धितोपत्र बोर्डका यस्ता छन् ८ योजना

काठमाडौं । विगत केही वर्षदेखि शिथिल र सुस्त रहेको पूँजी बजार सुधार तथा विकासको लागि धितोपत्र बोर्डले आधादर्जन भन्दा बढी योजनाहरु अगाडि सारेको छ ।

 

बोर्डले धितोपत्र बजारको विकास, विस्तार तथा सुधारका लागि नेपाल सरकारका विभन्न निकाय तथा समितिहरुले दिएको सुझाव प्रतिवेदन अनुसार सुधारका कार्यक्रम अगाडि बढाएको जनाएको छ ।

 

दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्धेश्यले धितोपत्र बजारमा स्टक डिलरको प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को संशोधन पारित गरी स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरेको बोर्डले जनाएको छ ।

 

हाल बैंकको प्रवद्र्धनमा मात्र सामूहिक लगानी कोष सञ्चालनमा रहेकोमा यस क्षेत्रमा बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित कम्पनीहरूलाई समेत प्रवेश गराउने प्रकृया अगाडि बढाइएको बोर्डले जनाएको छ ।

 

भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई धितोपत्र बजारमा प्रवेश गराउने उद्देश्य अनुरूप विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको र उक्त नियमावली अन्तर्गत हाल ५ वटा कोषहरूले अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा सो को अध्ययन भैरहेको जनाएको छ ।

 

धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरीदमा मार्जिन कारोबारको व्यवस्था गरिएको छ स्मरण गराउँदै लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र दलाल व्यवसायीहरूलाई अनुमति प्रदान गरिएकोमा केही धितोपत्र व्यवसायीहरुले लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराइसकेको जनाएको छ ।

 

धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लगिएको छ र आगामी दिनमा यसलाई थप क्षेत्रमा विस्तार गरिने बोर्डको उद्देश्य रहेको छ ।

 

हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन सक्ने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हक भन्दा शत प्रतिशतसम्म बढी आवेदन दिन सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को संशोधन पारित गरी संशोधन प्रकृया अगाडि बढाइएको जनाएको छ ।

 

सरकारको वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गत रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुर्नसंरचना गर्ने रणनीति अनुरूप हाल नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर विनिवेश गर्ने कार्य अगाडि बढिरहेको छ । यसबाट नेप्से थप व्यवसायिक एवं प्रभावकारी हुने अपेक्षा गरिएको बोर्डको भनाई छ ।

 

धितोपत्रको दोस्रो बजारलाई स्वच्छ एवं पारदर्शी बनाउनका लागि बजारमा हुन सक्ने भित्री कारोबारलाई निरूत्साहित गर्न भित्री कारोबार निषेधसम्बन्धी नियमावली, २०७६ बोर्डबाट पारित गरी उक्त नियमावली स्वीकृतिको चरणमा रहेको बोर्डले जनाएको छ ।

 

बोर्ड तथा अन्य निकायहरुबाट भइरहेका काम कारबाहीबाट धितोपत्र बजार पारदर्शी, स्वस्थ एवं प्रभावकारी भई बजारको दिगो विकासमा सघाउ पुग्ने बोर्डको अपेक्षा रहेको जनाएको छ ।

भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या Read Previous

भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या

हकप्रदमा नबिकेको सेयर लिलामीमा आउने संभावना न्यून Read Next

हकप्रदमा नबिकेको सेयर लिलामीमा आउने संभावना न्यून