काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि वाणिज्य बैंकहरूले सस्तैमा सवारी कर्जा (अटो लोन) उपलब्ध गराउन थालेका छन् । बैंकहरूको बेसरेट घट्दा र सवारी कर्जा लगानीमा नेपाल राष्ट्र बैंक केही लचिलो भएपछि बैंकहरूले बेसरेटमा थोरै मात्र प्रिमियम जोडेर ऋण दिन थालेका हुन् ।
बैंकहरूले कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकको लागत घट्न घई बेसरेट घटेपछि बैंकहरूले सस्तोमै कर्जा उपलब्ध गराउन थालेका हुन् ।
बैंकहरूले विगतमा आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिने गरेकोमा अहिले लगानी विस्तार गर्न केही बैंकले १ प्रतिशत प्रिमियममै कर्जा दिन थालेका छन् । गत असारसम्म दोहोरो अंकमा रहेको आधारदरमा सवारी कर्जाको लागि ५ प्रतिशतसम्म प्रिमियम जोड्दा औसतमा ग्राहकले १५ प्रतिशतसम्म ब्याजदर तिरिरहेका थिए ।
अहिले बैंकको आधारदर औसतमा ९ प्रतिशत छ । त्यसमा एक प्रतिशत मात्रै प्रिमियम थपेर सवारी कर्जा दिने कर्जा योजनाहरू बैंकले ल्याएका छन् । कतिपय बैंकहरूले विद्युतीय सवारी र पेट्रोल सवारीका लागि फरक–फरक ब्याजदर तोकेका छन् ।
बैंकहरूले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा दिएर प्रोत्साहन गरिरहेको पनि देखिन्छ । यद्यपि, बैंकबाट ऋण लिएर सवारी खरिद गर्नेहरूको संख्या भने घट्दो क्रममा रहेको छ ।
चालु आर्थिक वर्षमा सवारी साधन कर्जामा नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिए पनि कर्जा भने घटेको देखिन्छ । बैंकहरूको आधारदरमा आउने फेरिबद्ले ऋणीले लिने कर्जामा समेत फरक पर्छ । बैंकहरूको लागतले आधारदर तय गर्छ । त्यसमै ५ प्रतिशतसम्म प्रिमियम थपेर उनीहरूले ग्राहकलाई ऋण दिन्छन् ।
अहिले संस्थाहरूले प्रत्येक महिना आधारदर सार्वजनिक गर्दै आएका छन् । त्यसै अनुसार मंसिरमा सवारी कर्जाको ब्याजदर पनि घटेको हो । बैंकको लागत भने निक्षेपको ब्याजदर लगायतले फरक पर्छ । महंगो ब्याजदरमा निक्षेप संकलन गर्दा त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजमा पर्ने गरेको छ ।
अहिले बैंकले कर्जा माग नहुँदा आधारदरमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ऋण दिने योजना ल्याएका छन् । अधिकांश बैंकको आधारदर ९ प्रतिशत छ । उनीहरूले १ प्रतिशत प्रिमियम थप्दा ग्राहकले १० प्रतिशत ब्याजदरमै ऋण पाउँछन् ।
कुन बैंकको सस्तो ब्याजदर ?
सावारी साधन र ऋणको अवधि अनुसार बैंकहरूले पनि ब्याजदर निर्धारण गरेका छन् । विद्युतीय सवारी खरिदका लागि लिइने कर्जामा केही बैंकहरूले सहुलियत ब्याजदर तोकेका छन् भने पेट्रोल सवारीका लागि तुलनात्मक रूपमा महंगो ब्याजदर तय गरेका छन् ।
सबैभन्दा सस्तो ब्याजदर सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । विद्युतीय सवारी खरिद गर्न यस बैंकबाट ग्राहकले सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाउने देखिन्छ ।
यस बैंकले विद्युतीय सवारी कर्जा अन्र्तगत आधारदरमा १.४० देखि १.७५ प्रतिशत मात्रै प्रिमियम थपेर ऋण दिने जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको आधारदर हाल ८.६३ प्रतिशत रहेको छ । ५ वर्षभन्दा बढी अवधिको लागि यस बैंकले सवारी कर्जाको स्थिर ब्याजदर १४.५० प्रतिशत तोकेको छ ।
अन्य सवारीको लागि बैंकले आधारदरमा ३.२५ प्रतिशतसम्म प्रिमियम निर्धारण गरेको छ । नेपाल बैंकले आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम सहित सवारी कर्जाको ब्याजदर तय गरेको छ । यस बैंकको अहिले आधारदर ९.६५ प्रतिशत छ । बैंकले विद्युतीय सवारीको लागि आधारदरमा १.५० देखि ३.५० प्रतिशत प्रिमियम थपेर ऋण उपलब्ध गराउने जनाएको छ ।
नबिल बैंकले आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जा दिने जनाएको छ । हाल यस बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । नबिलले ५ देखि ७ वर्षको अटो लोनका लागि स्थिर ब्याजदर १०.९९ प्रतिशत तोकेको छ ।
ग्लोबल आइएमई बैंकले सवारी कर्जाको ब्याजदर आधारदर १०.०२ मा ५ प्रतिशतसम्म प्रिमियम थपेर तोकेको छ । ५ वर्षसम्म स्थिर ब्याजरमा १०.९९ र त्योभन्दा माथिको अवधिका लागि १२.९९ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.९५ प्रतिशत आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम सहित सवारी कर्जाको ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले आधारदर १०.८५ प्रतिशतमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर सवारी कर्जाको ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंकले १०.१ प्रतिशत आधारदरमा ३ देखि ५ प्रतिशत, एनआइसी एसीयाले स्थिर ब्याजदर १३.७६ प्रतिशत सवारी कर्जाको ब्याजदर तोकेका छन् । यसैगरी, कुमारी, माछापुच्छ्रे, प्राइम, सिटिजन, सानिमा सिद्धार्थ लगायत वाणिज्य बैंकहरूले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जाको ब्याजदर तय गरेका छन् ।