काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनको कारण बैंकहरूको नाफामा उच्च गिरावट आउँदा जीवन बीमा कम्पनीले भने छलाङ मारेका छन् । आर्थिक शिथिलताका बाबजूद चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा ३० प्रतिशतले बढेको हो ।
कम्पनीहरूले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १३ वटा जीवन बीमा कम्पनीले १ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३८ करोड रुपैयाँले धेरै हो । कम्पनीहरूले गत वर्षको यही अवधिमा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
गत आवदेखि बजारमा माग नबढ्दा वित्तीय क्षेत्र लगायत अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रमा देखिएको यस्तो समस्याका कारण पहिलो त्रैमासमै वाणिज्य बैंकहरूको खुद नाफा १८.६० प्रतिशतले घटेको छ ।
अधिकांश विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तको समेत व्यवसायमा गिरावट आउँदा जीवन बीमा कम्पनीहरूले भने पहिलो त्रैमासमा उच्च नाफा आर्जन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरूको पोर्टफोलियो बलियो रहँदा कम्पनीको नाफामा असर नदेखिएको नेपाल बीमा प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
‘आर्थिक मन्दीको असर अन्य क्षेत्रजस्तै बीमा व्यवसायमा पनि परेको छ । प्रिमियम तिर्न नसक्दा कतिपयले पोलिसी नै सरेन्डर गरेका पनि छन्,’ बीमा प्राधिकरणका एक अधिकारीले भने, ‘तर, यो त्रैमासमा जीवन बीमा व्यवसायमा त्यत्ति धेरै असर देखिएन् । यो पुरानो पोर्टफोलियो बलियो भएर पनि हो । कम्पनीहरूको व्यवसाय सुधार हुँदै गएको छ । त्यसैले नाफा पनि बढेको हो ।’
कोभिडपछि सुस्ताएको बीमा व्यवसाय पछिल्लो समय अर्थतन्त्रको संकटले शिथिल भएको थियो । यद्यपि, चालु वर्षदेखि भने सुधारका संकेतहरू देखिन थालेको बीमकहरूको भनाइ छ ।
चालु वर्षको पहिलो त्रैमासमा १४.०४ प्रतिशतले जीवन बीमा व्यवसाय कम्पनीहरूले बढाएका छन् । व्यवसायमा देखिएको सकारात्मक प्रभावका कारण कम्पनीको खुद नाफा पनि बढेको तथ्यांकले देखाउँछ ।
यो वर्ष जीवन बीमा कम्पनीहरूको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि वृद्धि भएको छ । बीमा कम्पनीहरूले अधिकांश रकम मुद्दती निक्षेपमा राख्ने गरेका छन् । भदौसम्म बैंकको मुद्दती निक्षेपको ब्याजदर नै दोहोरो अंकमा थियो ।
बीमा कम्पनीहरूले बैंकमा राखेको निक्षेप बापत प्राप्त गर्ने ब्याज आम्दानी पनि बढेको छ । जीवन बीमा व्यवसायमा भएको वृद्धि र लगानी बापतको आम्दानी वृद्धि हुँदा नाफा बढेको हो ।
कुनले कति कमाए ?
असोज मसान्तसम्म सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक २४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले ३५ प्रतिशतले बढाएको हो ।
एशियन लाइफ इन्स्योरेन्सले १५ प्रतिशतले नाफा बढाएर १६ करोड रुपैयाँ पुर्याएको छ । सन नेपालले १६ करोड रुपैयाँ नाफा कमाएको छ ।
नेपाल लाइफले १५ करोड, सूर्यज्योति, आइएमई र नेशनल लाइफ इन्स्योरेन्सले १३/१३ करोड रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।
रिलायबल नेपाल र सानिमा रिलायन्सले ११/११ करोड, प्रभु महालक्ष्मी १० करोड, मेटलाइफ ९ करोड, सिटिजन ७ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेसनले ६ करोड रुपैयाँ पहिलो त्रैमकासमा नाफा कमाएका छन् । यस अवधिमा सबैभन्दा धेरै खुद नाफा सूर्यज्याेति लाइफ इन्स्योरेन्स २६३ प्रतिशतले बढाएको छ ।