काठमाडौं । युनिलिभर नेपालको सेयर मूल्यले अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । कम्पनीको सेयर भाउ सोमबार (११:१५ बजेसम्म) प्रतिकित्ता ३०५६ रुपैयाँ बढेर ४१ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
युनिलिभरको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ३ गते कम्पनीको सेयर मूल्य इन्ट्रा डेमा प्रतिकित्ता मूल्य ३९ हजार ९३० रुपैयाँ पुगेको थियो ।
युनिलिभर नेपाली सेयर बजारमा सूचीकृत झन्डै ३०० कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । पछिल्लो १ वर्ष यता कम्पनीको सेयर मूलयमा लगातार बढिरहेको छ । यस अवधिमै यसको सेयर मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । २०७९ साउनमा प्रतिकित्ता १८ हजार हाराहारीमा रहेको कम्पनीको सेयर मूल्य आज ४१ हजार रुपैयाँ पुगेको हो ।
कम्पनीको व्यापारमा सुधार आई वित्तीय अवस्था आकर्षक बनेकाले लगानीकर्ता यसको सेयरमा आकर्षित भएका हुन् । चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नाफा गत वर्षको तुलनामा ६२.२१ प्रतिशतले बढेर ५५ करोड २५ रुपैयाँपुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.७५ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो।
हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब ८२ करोड रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७२४ रुपैयाँबाट बढेर वार्षिक २२२२ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ३७७ रुपैयाँबाट बढेर ५ हजार ३३७ रुपैयाँ पुगेको छ ।
युनिलिभर नेपाली कम्पनीमध्ये सर्वाधिक लाभांश दिने कम्पनी पनि हो । गत वर्षको नाफाबाट कम्पनीले प्रतिसेयर १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।