नारायणी नदीमा मोटरबोट चढ्नेको भीड, कति लाग्छ शुल्क ?

भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दशैं तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो ।

नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउने र मोटरबोट चढ्नेको सङ्ख्या बढेको भरतपुर महानगरपालिका–१ का वडा सदस्य मनोज घिमिरेले जानकारी दिए ।

उनले महानगरपालिकाले नदी किनार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । मोटरबोट कम्पनीले विभिन्न ‘प्याकेज’मा सेवा दिइरहेका छन् ।

नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात उद्यान र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् ।

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति २५० रुपैयाँ र लामो दूरीमा प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इञ्जिनदेखि २०० एचपीको इञ्जिनसम्मका बोट रहेको मोटरबोट सञ्चालक समितिका अध्यक्ष अशेष मल्लले जानकारी दिए ।

विसं २०७२ मा कालीखोलादेखि गोलाघाटसम्म बोटिङ सञ्चालन गर्न नारायणी किनारको अध्ययन गरिएको थियो । कालीखोलादेखि सानो गढीसम्मका लागि बोटिङ सञ्चालन गर्न आफूहरुले अनुमति पाएको व्यवसायी विजयचन्द्र अधिकारीले बताए ।

विसं २०७५ बाट आफ्नो कम्पनीले नारायणीमा बोट सञ्चालन गर्दै आएको बताउँदै उनले भने, ‘सुरुवाती चरणमा कोरोनाका कारण व्यवसाय राम्रो नभए पनि गत वर्ष र यस वर्ष मोटरबोट चढ्ने पर्यटक बढेका छन् ।’ चाडपर्वको समयमा नारायणीमा दैनिक ५ हजार जनासम्मले बोटिङ गर्ने गरेको उनले जानकारी दिए ।

उनले बिदाको दिनमा घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको बताए । नारायणी नदी नेपालको मध्यभागमा पर्ने भएकोले यहाँ पछिल्लो समय पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको व्यवसायी गोविन्द श्रेष्ठले जानकारी दिए । उनले पर्यटकको घुम्ने समय बढाउन थप प्याकेज र सुविधा ल्याउनुपर्ने बताए ।

पहिलो पटक नारायणी किनारमा बोटिङ गर्दा निकै रमाइलो भए पनि समय निकै कम भएको हेटौँडाबाट आएका विष्णु कालाखेतीले बताए। उनले परिवारसँग आउँदा प्याकेजको व्यवस्था र मोटरबोटका लागि तिरेको शुल्क अनुसार समय बढाउनुपर्ने बताए।

पहिले धेरै पटक बोटिङ गरे पनि यो पटक साथीहरुसँग बोटिङ गर्दा निकै रमाइलो भएको भरतपुरकी शान्ता खत्रीले बताइन्। उनले नारायणीमा बोटिङ गर्दा निकै रमाइलो हुने गरेको अनुभव सुनाइन् । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

युनिलिभरको सेयर मूल्य बन्याे अहिलेसम्मकै महँगो, प्रतिकित्ता भाउ ४१ हजार Read Previous

युनिलिभरको सेयर मूल्य बन्याे अहिलेसम्मकै महँगो, प्रतिकित्ता भाउ ४१ हजार

अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले बोलाए बैठक Read Next

अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले बोलाए बैठक