काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै गएको छ । वित्तीय प्रणलीमा पर्याप्त तरलता हुँदा संस्थाहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।
निक्षेपको ब्याजदर घट्दा बैंकको आधारदर एकल अंकमा आएको छ भने कर्जाको ब्याजदर समेत घट्दै गएको हो । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकको आधारदर एकल अंकमा झरेको छ ।

गत पुसयता बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । त्यसकै असर बैंकको आधार दरमा देखिएको हो । अहिले कर्जाको ब्याजदर पनि गत असारको तुलनामा ओरालो लागेको छ ।
मंसिरको लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर ०.३३२ प्रतिशतले घटाएसँगै औसतमा वाणिज्य बैंकको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर ९.६३ प्रतिशतमा कायम भएको छ । यद्यपि, बैंकको निक्षेपको ब्याजदरमा देखिएको यो फेरबदलको असर भने कर्जाको ब्याजदरमा आगामी त्रैमासपछि मात्रै देखिनेछ ।
निक्षेपको ब्याजदर उच्च हुँदा बैंकको लागत वृद्धि भएर आधारदर बढ्छ । आधारदर उच्च हुँदा त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजदरमा पर्न जान्छ । गत वर्ष बैंकहरुले वित्तीय प्रणालीमा तरलता अभावका कारण निक्षेप तान्ने होडमा ब्याजदर बढाएका थिए । त्यसको असर कर्जाको ब्याजदरमा देखिँदा बजारमा ऋणको माग बढ्न सकेको थिएन् ।

कर्जा लगानी नहुँदा बैंकिङ प्रणालीमा एकातिर स्रोत थुप्रियो भने अर्कोतिर महंगो निक्षेपका कारण बैंकको लागत बढ्यो । अहिले भने बैंकहरु कर्जा लगानी बढाउन र लागत घटाउन ब्याजदर घटाउनै पर्ने दबाबमा छन् ।
सोही कारण संस्थाहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । अब भने त्यसको असर कर्जाको ब्याजरमा पनि देखिनेछ ।