मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

मंसिरका लागि २० मध्ये १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैंकले कात्तिककै ब्याजदर यथावत राखेका छन् ।

मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले मात्र मंसिरमा निक्षेपको ब्याजदर बढाएको छ भने अरु सबै बैंकले घटाएका छन् ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मंसिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर कात्तिकमा ७.८५ प्रतिशत रहेकोमा मंसिरमा ७.५४७ प्रतिशतमा झरेको छ ।

मंसिरमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.६०३ प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् ।

अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार दोस्रो महिना हो । कात्तिकमा पनि २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएका थिए ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

कुनको कति ?

मंसिरमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एनआइसी एशिया बैंकले घटाएको छ । कात्तिककोे तुलनामा मंसिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। कात्तिक महिनामा ११.००३ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर मंसिरमा ८.९६८ प्रतिशतमा झारेको छ ।

त्यसैगरी, एनएमबी बैंकले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ । कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मंसिरमा ९.७६ प्रतिशतमा झारेको छ ।

मंसिरमा ३ बैंकले सबैभन्दा धेरै १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन, नेपाल एसबीआइ र माछापुच्छ्रेले व्यक्तिगत मुद्दतीमा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका हुन् । त्यस्तै, प्राइम कमर्शियल, लक्ष्मी सनराइज र कुमारी बैंकले १० प्रतिशत बढी ब्याजदर दिने भएका छन् ।

मंसिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एशिया बैंकको चार्टर्डको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत र संस्थागतमा ६.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले ९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटजन्स र सिद्धार्थ बैंकले ९ देखि १० प्रतिशतको बीचमा ब्याज दिने भएका छन् ।

नेप्सेमा सूचीकृत चार होटलको नाफा १६ करोड, कुनको वित्तीय अवस्था कस्तो ? Read Previous

नेप्सेमा सूचीकृत चार होटलको नाफा १६ करोड, कुनको वित्तीय अवस्था कस्तो ?

जाडो मौसममा रेल संचालनको समय तालिका परिवर्तन हुने Read Next

जाडो मौसममा रेल संचालनको समय तालिका परिवर्तन हुने