काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार होटलहरुले १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
होटलहरूले सार्वजनिक गरेको असोजसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार केहीको नाफामा सुधार आएको छ भने केहीको गिरावट आएको छ । आर्थिक वर्षको सुरुदेखि नै बाह्य पर्यटकहरुको आवागमन बढ्दो छ ।
आर्थिक शिथिलता कायमै रहे पनि होटलहरुमा भने विभिन्न पर्यटकीय गतिविधिले व्यवसायीक संकुचनको प्रभाव पारेको छैन ।
जसको कारण उनीहरुको वित्तीय अवस्थामा सुधार नै देखिएको छ । कोभिडले ठप्प बनेको होटल व्यवसाय त्यसयता पर्यटन आवागमन र मानिसको आर्थिक गतिविधिले सकारात्मक टेवा पुर्याएको छ ।
बैंक तथा वित्तीय क्षेत्रका अधिकांश संस्थाहरुको नाफामा गिरावट आउँदा ठूला होटलहरुमा भने त्यत्ति आर्थिक शिथिलताको असर नदेखिएको व्यवसायीहरु बताउँछन् ।
कुन होटलले कति कमाए ?
सोल्टी होटलको नाफा पहिलो त्रैमासमा ८.६२ प्रतिशतले घटेको छ । गत वर्षको असोज मसान्तसम्म खुद नाफा ११ करोड २० लाख रुपैयाँ कमाएको होटलले यस वर्षको सोही अवधिमा १० करोड २३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडको नाफा ६३.०७ प्रतिशतले बढेको छ । कम्पनीले असोज मसान्तसम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा
कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सिटी होटलको आम्दानी बढ्न थालेको छ । आम्दानी बढेसँगै नोक्सान पनि घट्न थालेको वित्तीय विवरणले देखाउँछ ।
गत वर्षको पहिलो त्रैमासमा ८ करोड ९२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
ओरियन्टल होटल्सले १३.४६ प्रतिशतले खुद नाफा बढाएको छ । गत वर्षको पहिलो तीन महिनामा १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको हाेटलले चालु वर्षको सोही अवधिमा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांकले देखाउँछ ।
आर्थिक शिथिलताका बाबजुत आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल कायमै रहेको कारण स्टार होटलहरुको व्यवसायमा उछाल देखिएको हो ।
अर्थतन्त्रको संकटले वित्तीय संस्थाको आर्थिक सूचकमा व्यापक फरक पार्दा होटल क्षेत्रमा भने त्यसको असर धेरै नदेखिएको तथ्यांकले देखाउँछ ।
कुनका वित्तीय सूचक कस्ता ?
सूचीकृत होटल मध्ये आय, खुद नाफा लगायतका सूचकहरुमा सोल्टी होटल अगाडी छ । यो अवधिमा सोल्टीको कुल आय ३९ करोड रुपैयाँ छ भने खर्च २८ करोड रुपैयाँ रहेको तथ्यांकले देखाउँछ ।
प्रतिसेयर नेटवर्थमा ओरियन्टल होटल बलियो छ । यसको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ, सिटी होटलको एक सय रुपैयाँ, चन्द्रागिरि हिल्सको ८६ रुपैयाँ र सोल्टीको २५ रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ५.५७ रुपैयाँ, सीटी होटल १४ रुपैयाँ ऋणात्मक, ओरियन्टल १.१३ र सोल्टीको १.१६ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजीको आधारमा सबैभन्दा बलियो सिटी होटल रहेको छ । यसको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । दोस्रोमा चन्द्रागिरि हिल्सको १ अर्ब ५३ करोड, ओरियन्टल १ अर्ब १२ करोड र सोल्टी होटलको ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।