तिहार बिदामा बीमा दाबी कसरी गर्ने ? कम्पनीले गरेका छन् यस्तो विशेष व्यवस्था

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले तिहारको बिदाका लागि बीमा दाबीको विशेष व्यवस्था गरेका छन् । कम्पनीहरूले ग्राहकको सहजताका लागि कर्मचारी र सम्पर्क ठेगानासहितको व्यवस्था गरेका हुन् ।

तिहारमा एक हप्ता लामो सार्वजनिक बिदा छ । कात्तिक २५ गते काग तिहारदेखि कात्तिक ३० गतेसम्म सरकारी तथा निजी कार्यालयहरू बन्द हुने छन् । त्यस्तै, मंसिर १ गते शुक्रबार एकदिन कार्यालय खुले पनि फेरि २ र ३ गते पनि सार्वजनिक बिदा छ ।

बिदाको बेलामा सवारी   भइहाले ग्राहकको सुविधाका लागि दाबी गर्ने व्यवस्था मिलाएका हुन् । बिदामा कार्यालय बन्द हुने भएका कारण आवश्यक सम्पर्क तथा दाबीका लागि कम्पनीहरूले छुट्टै प्रबन्ध मिलाएको जनाएका छन् ।

बिदाको समयमा पनि सवारी साधन चल्ने र मानिसको आवत जावत भइरहन्छ । यो अवधिमा विभिन्न जोखिम सहित आउने बीमकको सेवाका लागि कम्पनीहरूले विशेष व्यवस्था गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले बताए ।

‘हामीले बिदाको अवधिमा दाबीका लागि केही कर्मचारीसहित सम्पर्क ठेगाना राखेर विशेष व्यवस्था गरेका छौं,’ उनले भने, ‘यो समयमा सडक दुर्घटना वा केही गरी आउने जोखिमको बीमा दाबी गर्न आउने ग्राहकको सहजीकरणका लागि छुट्टै जानकारी नै प्रकाशन गरेका छौं ।’

बिदामा बैंक तथा वित्तीय संस्था समेत बन्द हुने भएकाले ग्राहकले भुक्तानीका लागि भने केही समय कुर्नुपर्ने उनले बताए । हाल नेपालमा १४ वटा निर्जीवन बीमा र दुई लघु बीमा कम्पनी छन् ।

सञ्चालनमा रहेका यी कम्पनीहरूले बिदाको समयमा दाबीको लागि सम्पर्क ठेगाना र कर्मचारी तोकेका छन् । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स(सलिको)ले दीपावलीको लागि कात्तिक २६ देखि ३० गतेसम्म कार्यालय बन्द रहने जनाएको छ । यो अवधिमा कुनै दाबी तथा अन्य काम पर्न गए कम्पनीको इमेल र टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

यही समयमा पर्ने दाबी तथा अन्य कामको लागि केही कर्मचारीहरूलाई जिम्मेवारी दिइएको र तोकिएका व्यक्तिसँग सम्पर्क गर्न बीमा कम्पनीले अनुरोध गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले पनि आफ्ना कर्मचारीहरू मर्फत बिदाको अवधिमा दाबी गर्न सकिने विशेष व्यवस्था गरेको जनाएको छ । कम्पनीले सातै प्रदेशमा प्रदेश प्रमुख, बीमा दाबीका सम्बन्धि सेवा र बजार व्यवस्थापन सम्बिन्धत सेवाका लागि कर्मचारीलाई तोकेको छ । बीमा सम्बन्धी कुनै काम भए बिदाको अवधिमा ती कर्मचारीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीले पनि बिदाको अवधिमा दाबीका लागि तोकिका पदाधिकारीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैगरी, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड,  नेको, नेशनल, आइजिआई प्रुडेन्सियल लगायत बीमा कम्पनीहरूले पनि अनलाइन तथा अफलाइन मार्फत दबाी गर्न सकिने जनाएका छन् ।

सूचना प्रविधिको बढ्दो विकास  र प्रयोगले बीमा कम्पनीहरू पनि डिजीटलाइन हुँदै गएका छन् । यसले बीमा दाबीका लागि ग्राहकको समय र लागत पनि बचाएको छ । अर्कोतिर ग्राहकले अनलाइन मार्फत नै बीमा गर्न सकिने योजनाहरू कतिपय बीमा कम्पनीहरूले ल्याएका छन् ।

 

फूडमाण्डुले मनायो १३ औं वार्षिकोत्सव Read Previous

फूडमाण्डुले मनायो १३ औं वार्षिकोत्सव

साहसिक खेल-पर्यटनको ‘हब’ बन्दै फुल्चोकी क्षेत्र  Read Next

साहसिक खेल-पर्यटनको ‘हब’ बन्दै फुल्चोकी क्षेत्र