बाँके । बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी व्यहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन् ।
अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी । यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्य पूर्व–पश्चिम राजमार्गको छेउमै देखिने सेतो भवन र आसपासमा बनेका चिटिक्क परेका अन्य संरचनाले एकपटक यात्रीको ध्यान खिच्ने गरेको बताउँछन् ।
कोहलपुर चौराहमा फलफूलको व्यापार गर्दै आएका खड्कबहादुर थापा भन्छन्, ‘पहिला–पहिला त यहाँ आउने हरेक मान्छेले के बन्न लागेको भनेर सोधेर हैरान पार्थे । आजभोलि धेरै उतै जान्छन्, फोटो खिचाउँछन्, फलफूल किन्न आउने मान्छेको नजर त्यता जान्छ कति राम्रो बसपार्क भन्छन् । नयाँ बसबिसौनी आकर्षणको केन्द्र बनेको छ ।’
पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौराह नजिकै पाँच बिघा १६ कठ्ठा जमिनमा अत्याधुनिक बसपार्क निर्माण भएको छ । यो बसपार्क नेपालभरिमै आधुनिक हुनुका साथै यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारका सुविधा उपलब्ध रहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास प्रमुख इञ्जिनियर बालकृष्ण महताराले बताउँछन् ।
इञ्जिनियर महताराका अनुसार बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ । बाहिर निस्कन बेग्लै ढोका छन् । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटर राखिएका छन् । उत्तरतर्फ भण्डारणसहितका २९ वटा ठूला सटर छन् । दक्षिणतर्फ भण्डारणबिनाका ३० वटा सटर छन् ।
बसपार्कभित्रै निर्माण गरिएका ५९ वटै सटरमा व्यवसाय सञ्चालन भइसकेको छ । व्यापारिक भवनसँगै जोडिएका १० कोठामा २० वटा टिकट काउन्टर छन् । सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ ।
बसपार्कभित्र विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु एक करोडको लागतमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चार्जिङ स्टेशन पनि बनाएको छ । यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ । टर्मिनल भवनमा यात्रु प्रतिक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ । बसपार्कका शौचालय सुविधायुक्त छन् । बसपार्कभित्र जहाँसुकै धूमपान गर्न पाइने छैन । निर्धारित ठाउँमात्र त्यसो गर्न पाइन्छ । यहाँ तीन थान हाइमास्ट लाइट राखिएका कारण राति पनि झलमल्ल हुने गरेको छ ।
बसपार्कमा एकपटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ । भदौ १ गतेदेखि यो बसपार्कबाट लामो दूरीका बस र छोटो दूरीका बस सञ्चालनमा भएका छन् । टिकट काट्ने र यात्रुलाई सहजताका लागि सबै सुविधाको व्यवस्थापन गरेर बसपार्कभित्र ठूला तथा साना बस छुट्ने र पार्किङ गर्ने स्थान फरक–फरक व्यवस्था गरिएको छ ।
बसपार्क व्यवस्थापनका लागि वार्षिक रु ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी बागीश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको छ । नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क रु ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु १८ करोड ३७ लाख २४ हजार छ सय २१ ऋण लिइएको छ भने नगरपालिकाले रु १२ करोड २४ लाख ८३ हजार ८० लगानी गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको र ४० प्रतिशत कोहलपुर नगरपालिकाले गरेको बताए ।
उनले नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको जनाउँदै बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स, तीनवटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै विद्युतीय चार्जिङ स्टेशनको व्यवस्था पनि मिलाइएको बताए ।
कोहलपुरको गौरव गर्ने योजनाको रूपमा रहेको लामो दूरीमा चल्ने बस राख्न मिल्ने अत्याधुनिक बसपार्क सञ्चालनमा आएपछि कोहलपुरको स्वरुपमै परिवर्तन आएको नगरपालिकाका पूर्वप्रमुख लुटबहादुर रावतले बताए ।