फाष्ट ट्रयाकमा ‘धरहरा’ जत्रै अग्लो पुल बन्दै, जेठसम्म सम्पन्न हुने

फास्ट ट्रयाकको धेद्रे र लेनडाँडा सुरुङलाई जोड्ने ८२ मिटर उचाइको निर्माणाधीन पुल ।

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)अन्तर्गत पुल निर्माणले पनि गति लिएको छ । आयोजनाले सडक, सुरुङ सँगसँगै पुल निर्माणलाई पनि तीव्रता दिएको हो ।

आयोजना अन्तर्गत कुल १२.८८५ किलोमिटर लम्बाइका ८९ वटा पुलहरू निर्माण हुनेछन् । जसमा ४५ वटा पुलको डिजाइन सम्पन्न भइसकेको नेपाली सेनाका ब्रिगेडियन जेनेरल तथा सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार अहिले पुल निर्माणको काम धमाधम भइरहेको छ । ८९ वटा पुलका लागि १ हजार ७६८ वटा पाइल बनाउनुपर्नेमा हालसम्म १ हजार १७५ वटा पाइल निर्माण पूरा भएको उनले बताए ।

पुल निर्माणकै क्रममा अहिले सम्भवतः फास्ट ट्रयाकै अग्लो पुल बनाउने काम धमाधम भइरहेको छ । धेद्रे र लेनडाँडा सुरुङलाई जोड्ने ८२ मिटर उचाइको पुल निर्माणले गति लिएको उनले बताए । यो पुलको उचाइ झन्डै धरहराको जत्ति नै हो । धरहराको जमिनदेखि गजुरसम्मको उचाइ ८३.८५ मिटर अग्लो छ ।

सूचना अधिकारी भण्डारीका अनुसार दुई सुरुङ जोड्ने उक्त पुल आगामी जेठ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको उनले बताए । हाल उक्त पुल निर्माणका लागि ७२ मिटर अग्लो पायर जमिन माथिको पिल्लरको उचाइ) पिल्लर) बनाइँदैछ ।

‘धेद्रे र लेनडाडा सुरुङ जोड्नको लागि हामीले ७२ मिटर अग्लो पायर हालेर पोल बनाएका छौँ, लेनडाँडाको काम गरिरहेको टोलीले पुल पनि बनाइ राखेको हो, आउँदो जेठसम्म पुल बनाइसक्ने भनेको छ,’ भण्डारीले चाणक्य पोष्टसँग भने ।

यसमा ६ वटा पिलर हुन्छ । यसबाट २ वटा पुल बन्छ । डिजाइन अनुसार ठाउँ अनुकूल हाइट बनाइएको छ । पायर क्याब अर्थात जेरो ब्लकभन्दा माथिको हाइट ७२ मिटर हो । यो पुल सुरुङमा जोडिन्छ ।

जमिनभन्दा मुनिको भागलाई पाइल भनिन्छ भने जमिन माथिलाई पायर भनिन्छ । यो पायर माथि २७० मिटर र २४५ मिटर लामो दुई वटा पुल बनाइने छ । सुरुङबाट आउने सवारीसाधनहरू यही पुल हुँदै आवतजावत गर्ने छन् ।

आयोजनाको हालसम्म करिब एकचौथाई काम सकिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि निर्माण सुरु गरिएको यस आयोजनाको २७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएकै सममा काम सम्पन्न नहुने भएपछि हालै म्याद थपिएको छ । थपिएको म्याद अनुसार अब २०८३ सम्म सम्पन्न गर्नुपर्नेछ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको संशोधित लम्बाइ ७०।९७७ किलोमिटर छ । पुरानो डीपीआर अनुसार फास्ट ट्रयाकको कुल लम्बाइ ७२।७२९ किलोमिटर रहेको थियो ।

आयोजनाको संशोधित अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड ररुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो चार स्थान Read Previous

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो चार स्थान

कोहलपुरमा अत्याधुनिक बसपार्क सञ्चालन Read Next

कोहलपुरमा अत्याधुनिक बसपार्क सञ्चालन