बाह्यसँँगै क्रमशः सुधार हुँदै आन्तरिक अर्थतन्त्र, यस्ता छन् ७ मुख्य सूचक

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत हुँदै जाँदा आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो ।

गत वर्षको असोजदेखि नै अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकहरूमा लगातार सुधार आइरहको थियो भने आन्तरिक भने झन् शिथिल हुँदै गएको थियो । तर, चालु वर्षको असोजदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ ।

राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा बलियो बनेको देखाएको छ ।

त्यस्तै, भदौको तुलनामा सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, महँगी नियन्त्रमा केही सुधार देखिएको छ । गत भदौको तुलनामा महँगी केही घटेको छ भने बैंकको कर्जा लगानी बढेको छ । यसैगरी, राजस्व संकलन पनि केही सकारात्मक भएको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंक र सरकारले गत वर्ष आयातमा कडाइ गर्दा यस वर्ष अर्थतन्त्रको बाह्य सूचकहरू अहिलेसम्मकै मजबुत अवस्थामा छन् । तर, त्यसअनुसार आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन ।

बाह्य क्षेत्र बलियो बनाउन खोज्दा आन्तरिक अर्थन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

१. विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै : विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पहिलो त्रैमासमा ६.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको हो । यो अहिलेसम्मकै धेरै हो ।

यस्तै, अमेरिकी डलर संचिति ३१ महिना यताकै धेरै पुगेको छ । असोजसम्म राष्ट्रिय ढुकुटीमा १२ अर्ब ३३ करोड अमेरिकी डलर संचित छ । यो सन् २०२१ मार्च यताकै धेरै हो ।

विदेशी पर्यटकको आवगमन बढ्दा, रेमिट्यान्स वृद्धि र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । आव २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।

२. रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो

चालु आवको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।

३. चालु खाता र शोधनान्तर स्थिति बचतमा

यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म चालु खाता ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

४. व्यापार घाटा बढ्यो

चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।

कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो । कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई ४०७ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो ।

५. २१९ अर्ब आम्दनी, २८० अर्ब खर्च

असोजसम्म सरकारको कुल खर्च २८० अर्ब ५७ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च २१३ अर्ब ३९ करोड, पूँजीगत खर्च १७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रहेको छ ।

सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २१९ अर्ब १२ करोड भएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ५ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व १९९ अर्ब ४६ करोड र गैरकर राजस्व १९ अर्ब ६५ करोड परिचालन भएको छ ।

६. बढ्यो निक्षेप संकलन र कर्जा लगानी

समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि झिनो सुधार आएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २२ अर्ब ६९ करोड (०.४ प्रतिशत)ले बढेको थियो ।

असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०९ अर्ब ३ करोड
(२.३ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५९ अर्ब ११ करोड (१.३ प्रतिशत)ले बढेको थियो ।

७. महँगी घट्दै, तर अझै नियन्त्रण बाहिर

चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । यद्यपि, सरकारको लक्ष्यभन्दा बढी रहेको छ । गत वर्षदेखि उच्च रहँदै आएको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । यद्यपि, गत वर्षकोभन्दा सुधार हुँदै गएको छ ।

असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पद्धार्थको १२.२३ प्रतिशत र दुग्ध पद्धार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । चालु वर्षमा ६.५ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने राष्ट्र बैंकले लक्ष्य लिएको छ । तर, आवको सुरुदेखि नै महंगी भने नियन्त्रण बाहिर छ ।

 

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना सवा खर्ब भित्रिँदै Read Previous

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना सवा खर्ब भित्रिँदै

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई राहत सामग्री प्रदान Read Next

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई राहत सामग्री प्रदान