काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत हुँदै जाँदा आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो ।
गत वर्षको असोजदेखि नै अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकहरूमा लगातार सुधार आइरहको थियो भने आन्तरिक भने झन् शिथिल हुँदै गएको थियो । तर, चालु वर्षको असोजदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ ।
राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा बलियो बनेको देखाएको छ ।
त्यस्तै, भदौको तुलनामा सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, महँगी नियन्त्रमा केही सुधार देखिएको छ । गत भदौको तुलनामा महँगी केही घटेको छ भने बैंकको कर्जा लगानी बढेको छ । यसैगरी, राजस्व संकलन पनि केही सकारात्मक भएको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंक र सरकारले गत वर्ष आयातमा कडाइ गर्दा यस वर्ष अर्थतन्त्रको बाह्य सूचकहरू अहिलेसम्मकै मजबुत अवस्थामा छन् । तर, त्यसअनुसार आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन ।
बाह्य क्षेत्र बलियो बनाउन खोज्दा आन्तरिक अर्थन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ ।
यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू
१. विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै : विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पहिलो त्रैमासमा ६.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको हो । यो अहिलेसम्मकै धेरै हो ।
यस्तै, अमेरिकी डलर संचिति ३१ महिना यताकै धेरै पुगेको छ । असोजसम्म राष्ट्रिय ढुकुटीमा १२ अर्ब ३३ करोड अमेरिकी डलर संचित छ । यो सन् २०२१ मार्च यताकै धेरै हो ।
विदेशी पर्यटकको आवगमन बढ्दा, रेमिट्यान्स वृद्धि र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । आव २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।
२. रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो
चालु आवको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।
३. चालु खाता र शोधनान्तर स्थिति बचतमा
यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म चालु खाता ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।
४. व्यापार घाटा बढ्यो
चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।
कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो । कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई ४०७ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो ।
५. २१९ अर्ब आम्दनी, २८० अर्ब खर्च
असोजसम्म सरकारको कुल खर्च २८० अर्ब ५७ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च २१३ अर्ब ३९ करोड, पूँजीगत खर्च १७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रहेको छ ।
सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २१९ अर्ब १२ करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ५ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व १९९ अर्ब ४६ करोड र गैरकर राजस्व १९ अर्ब ६५ करोड परिचालन भएको छ ।
६. बढ्यो निक्षेप संकलन र कर्जा लगानी
समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि झिनो सुधार आएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २२ अर्ब ६९ करोड (०.४ प्रतिशत)ले बढेको थियो ।
असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०९ अर्ब ३ करोड
(२.३ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५९ अर्ब ११ करोड (१.३ प्रतिशत)ले बढेको थियो ।
७. महँगी घट्दै, तर अझै नियन्त्रण बाहिर
चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । यद्यपि, सरकारको लक्ष्यभन्दा बढी रहेको छ । गत वर्षदेखि उच्च रहँदै आएको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । यद्यपि, गत वर्षकोभन्दा सुधार हुँदै गएको छ ।
असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पद्धार्थको १२.२३ प्रतिशत र दुग्ध पद्धार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । चालु वर्षमा ६.५ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने राष्ट्र बैंकले लक्ष्य लिएको छ । तर, आवको सुरुदेखि नै महंगी भने नियन्त्रण बाहिर छ ।