काठमाडौं । देशभरमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार १ सय पुगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ को असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १६७ बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार ११० पुगेका छन् ।
जसमा सबैभन्दा धेरै शाखा वाणिज्य बैंक र लघुवित्त कम्पनीहरुका रहेका छन् । देशभरमा ‘क’ वर्गका २८ वटा वाणिज्य बैंकका शाखा ३ हजार ८८४ पुगेका छन् ।
लघुवित्त कम्पनीका शाखा संख्या पनि वाणिज्य बैंककै हाराहारीमा रहेको छन् ।हाल सञ्चालनमा रहेका ९१ वटा लघुवित्त कम्पनीका ३ हजार ७५३ वटा शाखा रहेका छन् ।
यस्तै २५वटा विकास बैंकका १ हजार २५८ र २२ वटा फाइनान्स कम्पनीका २१५ वटा शाखा रहेका छन् । बैंक तथा वित्तीय संस्थाका शाखाले औसतमा ३ हजार २५० जनालाई बैंकिङ्ग सेवा प्रदान गर्ने गरेका छन् ।
वाणिज्य बैंकका शाखा ह्वात्तै बढ्दा विकास बैंकका भने घटे
चालू आर्थिक वर्ष २०७६/७७को तेस्रो महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाका १९० नयाँ शाखा थपिएका छन् भने ५० वटा पुराना शाखा घटेका छन् । समग्रमा असोजमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १४० वटाले बढेका छन् ।

राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्ममा ८ हजार ९७० रहेको बैंक तथा वित्तीय संस्थाका शाखा संख्या बढेर असोज मसान्तसम्ममा ९ हजार ११० पुगेका छन् ।
यो एक महिनाको अवधिमा सबैभन्दा धेरै नयाँ शाखा वाणिज्य बैंकहरुले खोलेका छन् । २८ वटा वाणिज्य बैंकहरुले असोजमा १४४ वटा नयाँ शाखा संचालनमा ल्याएका छन् ।
राष्ट्र बैंकले हरेक स्थानीय निकायमा वाणिज्य बैंकको शाखा अनिवार्य पुग्नु पर्ने व्यवस्था गरेपछि बैंकहरुले धमाधम नयाँ शाखा विस्तार गरेका हुन् । असोज मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७४१ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
असोजमा ‘ख’ वर्गका विकास बैंकका शाखासँगै संख्या पनि घटेका छन् । भदौ मसान्तसम्म २८ वटा रहेको विकास बैंकको संख्या असोजमा २५ मा झरेको छ भने १ हजार ३०८ शाखा संख्या घटेर १ हजार २५८ वटामा आइपुगेका छन् ।
विकास बैंकहरु अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा प्राप्ति (एक्वीजिसन) मा जानले यिनको संख्या र शाखा घट्न पुगेको हो ।
यस्तै असोजमा फाइनान्स कम्पनीले ६ र लघुवित्त कम्पनीले ४० वटा नयाँ शाखा थपेका छन् ।
उपत्यकामा मात्रै १ हजार १३२ शाखा
केन्द्रीय राजधानी समेत रहेको काठमाडौं जिल्लामा बैंक तथा वित्तीय संस्थाका सबैभन्दा धेरै शाखा रहेका छन् । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा काठमाडौंमा बैंक तथा वित्तीय संंस्थाको शाखा संख्या ८४५ पुगेका छन् । काठमाडौंमा असोज महिनामा मात्रै २० वटा शाखा थपिएका छन् ।

जसमा वाणिज्य बैंकका ६६४, विकास बैंकका १३५ र फाइनान्स कम्पनीका ४६ शाखा रहेका छन् । काठमाडौंमा लघुवित्तका कति शाखा छन् भन्ने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छैन । यस्तै उपत्यकाका ललितपुरमा १९२ र भक्तपुरमा ९५ वटा शाखा रहेका छन् ।
देशभरमा बैंक तथा वित्तीय संस्थाका सबैभन्दा कम शाखा कर्णाली प्रदेशको मुगु र प्रदेश नं. ५ को रुकुम पूर्वमा रहेका छन् । यी जिल्लामा वाणिज्य बैंकका ६/६ वटामात्र शाखा रहेका छन् भने विकास बैंक र फाइनान्स कम्पनी पुग्न सकेका छैनन् ।
प्रदेश ३ मा मात्रै २५ प्रतिशत शाखा
प्रदेश ३ मा मात्रै बैंक तथा वित्तीय संस्थाका कूल शाखा संख्याको २५ प्रतिशत शाखा रहेका छन् । कूल ९ हजार ११० शाखामध्ये यस प्रदेशमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीका गरी २ हजार ३२९ वटा शाखा रहेका छन् ।
भौगोलिक रुपमा समेत पीछडिएको कर्णाली प्रदेशमा सबैभन्दा कम शाखा रहेका छन् । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा जम्मा ३६३ वटा मात्र रहेका छन् ।
यस्तै प्रदेश १ मा १ हजार ४९४, प्रदेश २ मा १ हजार २७६, गण्डकी प्रदेशमा १ हजार २३२, प्रदेश ५ मा १ हजार ७५३ र सुदूरपश्चिम प्रदेशमा ६६३ वटा शाखा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाका शाखा कुन जिल्लामा कति ?