ठूला बैंकलाई कर्जा विस्तारमा छैन सहज, कुनको सीडी रेसियो कति ?

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि केही वाणिज्य बैंकहरूलाई भने आगामी दिनमा कर्जा विस्तार गर्न समस्या पर्ने देखिएको छ । गत आर्थिक वर्षदेखि स्रोत अभाव र माग संकुचनले ऋण लगानी बढाउन नसकेका बैंकहरूमाथि अतिरिक्त पूँजीकोष र सीडी अनुपातले आक्रामक कर्जा विस्तारमा दबाब पर्ने भएको हो ।

आर्थिक मन्दीका कारण कारण चालु आवको पहिलो त्रैमासमै खराब कर्जा बढेर नाफा घटेका बैंकहरूमाथि आगामी दिनमा थप व्यवसायिक दबाब पर्ने देखिएको छ । खराब कर्जा ४ प्रतिशत माथि पुगेका बैंकहरूको सीडी अनुपात पनि नियामकीय प्रावधान नजिक छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप (सीडी) अनुपातमा कर्जा लगानी गर्न पाउँछन् । पहिलो त्रैमासको तथ्यांक अनुसार अधिकांश बैंक सहज अवस्थामा भए पनि चुक्ता पूँजीका आधारमा ठूला भनिएका नबिल, एनएमबी र कुमारी बैंक भने दबाबमा रहेका छन् । यी तीनै बैंकको सीडी रेसियो ८६ प्रतिशत माथि छ । आगामी दिनमा कर्जाको माग बढेमा यी बैंकलाई सीडी अनुपातका कारण माग अनुसार कर्जा लगानी गर्न समस्या हुने देखिन्छ ।

प्रभु र हिमालयन बैंकको पनि सीडी रेसियो ८४ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । अन्य बैंकहरूको भने सीडी रेसियो औसतभन्दा कम रहेको छ । असोज मसान्तमा बैंकहरूको औसत सीडी रेसियो ८१ प्रतितश रहेको छ ।

यस्तै, केही बैंकहरूलाई राष्ट्र बैंकले लागू गरेको अतिरिक्त पूँजी कोषका कारण ऋण विस्तार गर्न दबाब पर्ने देखिन्छ । राष्ट्र बैंकले पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा कार्यान्वयन गर्दै अतिरिक्त पूँजीकोष हाल ८.५ प्रतिशत रहेकोमा ०.५ प्रतिशत थप गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको नियाकीय व्यवस्था अनुसार बैंकहरूले थप २.५ प्रतिशत जोखिम सम्पत्तिको तुलनामा पूँजी कोष अनुपात राख्नुपर्छ ।

आगामी आसार भित्र कायम गरिसक्नुपर्ने यो व्यवस्थापछि बैंकको अतिरिक्त पूँजीकोष ९ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकको गत असारसम्मको तथ्यांक अनुसार कतिपय बैंकहरूको प्राथमिक पूँजीकोष ८.५ प्रतिशत हाराहारीमा छ ।

जसको कारण ती बैंकहरूलाई राष्ट्र बैंकले लाभांश वितरमा रोक समेत लगाएको थियो । सो तथ्यांक अनुसार हिमालयन बैंक, एनआइसी एसिया, माछापुच्छ्रे, सिद्धार्थ, प्रभु लगायत आधा दर्जन बैंकको प्राथमिक पूँजीकोष ९ प्रतिशतभन्दा कम छ ।

थुप्रिँदैछ पैसा

ऋण लगानी नहुँदा स्रोत भने बैंकमै थुप्रिँदै गएको छ । एकातिर अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जाको माग बढ्न नसक्नु र अर्कोतिर माग बढे पनि कतिपय बैंक लगानीको सीडी रेसियो, पूँजीकोषको दबाबमा छन् ।

यसको असर बैंकको व्यवसायमा देखिने बैंकरहरू बताउँछन् । अहिले नै ऋण लगानी गर्न नसकेको अवस्थामा थप दबाब हुँदा अब कर्जा विस्तार गर्न सक्ने अवस्था नदेखिएको उनीहरूको भनाइ छ ।

बैंकहरूको कर्जा लगानी गत वर्षदेखि सुस्ताएको छ । अहिले प्रणालीमा तरलता थुप्रिए पनि माग नहुँदा व्यवसाय विस्तार गर्न सकेका छैनन् । चालु वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको सीडी रेसीयो औसतमा ८१.४० प्रतिशत छ ।

यसले प्रणालीमा लगानीयोग्य रकम झन्डै ५ खर्ब रुपैयाँभन्दा बढी रहेको देखाउँछ । संस्थाहरूले ९० प्रतिशतको सीडी अनुपातसम्म ऋण लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बढेन व्यवसाय

आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले २ खर्ब ७५ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् । यो त्रैमासमा १ अर्ब ५९ अर्ब रुपैयाँ निक्षेप बढाउँदा १ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

वाणिज्य बैंकहरूको पहिलो त्रैमाससम्म ५१ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन र ४२ अर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी पुगेको वित्तीय विवरणले देखाउँछ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत मसान्तसम्म बैंकहरूले ५० खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन र ४१ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी पुर्याएका थिए ।

यस वर्ष पनि गत वर्ष जस्तै बैंकको ऋण लगानीमा सुस्तता देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १.२ प्रतिशतले कर्जा लगानी बढाएका थिए । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा लगानी ७.७ प्रतिशतले बढाएका थिए । गत वर्षदेखि आर्थिक माग संकुचनले लगानी ऋण लगानी बढ्न नसकेको तथ्यांकले देखाउँछ । यो अवधिसम्म वाणिज्य बैंकहरूको औसतमा निक्षेप संकलन २ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

 

पोखराको लेकसाइड २४ घण्टै खोल्न दिन आदेश Read Previous

पोखराको लेकसाइड २४ घण्टै खोल्न दिन आदेश

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?