तिहारका लागि फूल र मालाको मूल्य निर्धारण, सयपत्रीको मालाको १०० रुपैयाँ

चितवन । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको १०० रुपैयाँ र फूलको प्रतिकिलो ५०० तय गरेको हो ।

निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए ।

उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ । यसबाट २ लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उनको भनाइ छ ।

छिमेकी जिल्लाबाटसमेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उनको भनाइ छ । साथै भारतबाटसमेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्पविकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उनले बताए ।

सङ्घका सचिव सुलभ श्रेष्ठले गतवर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूलखेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिए । व्यावसायिक रुपमा खेती गर्ने किसान आठजना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उनको भनाइ छ । प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उनले जानकारी दिए ।

चाडपर्व लक्षित गर्दै भरतपुर महानगरपालिका–२३ मा २० बिघामा फूलखेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूलखेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमासमेत अहिले फूलखेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूलखेतीमा युवा परिचालन गरी समूह बनाइ काम गरिएको उनले बताए ।

फूलखेती गर्ने किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उनले जानकारी दिए । उनले भने, ‘कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूलखेतीबाट सुरु गरेका छौँ ।’

जगतपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ । यहाँका युवा मिलेर फूलखेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिए ।

१४० मेगावाटको हाइड्रोपावर बनाउन सेती नदी फर्काइयो, बाँध निर्माण सुरू Read Previous

१४० मेगावाटको हाइड्रोपावर बनाउन सेती नदी फर्काइयो, बाँध निर्माण सुरू

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी