राष्ट्रिय स्तरका विकास बैंकको नाफामा झिनो सुधार, कुनले कति कमाए ?

काठमाडौं । वाणिज्य बैंकको खुद नफामा ठूलो गिरावट आउँदा राष्ट्रिय स्तरका विकास बैंकको वित्तीय अवस्थामा भने झिनो सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रकाशित वित्तीय विवरण अनुसार वाणिज्य बैंकको खुद नाफा औसतमा १६.६० प्रतिशतले घट्दा विकास बैंकहरूको भने ०.९४ प्रतिशतले बढेको हो ।

चालु आवको असोज मसान्तसम्म राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले कुल १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड रुपैयाँ धेरै हो । गत वर्षको पहिलो त्रैमासमा विकास बैंकहरूले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकिङ व्यवासायमा देखिएको हो । अर्थतन्त्रमा देखिएको संकटको असरले विकास बैंकहरूले समेत खुद नाफा प्रभावित भएको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका पाँच बैंकको नाफा घटेको छ भने ३ वटाको बढेको छ । जसमा कामना सेवा विकास बैंकको नाफा सबैभन्दा धेरै १८७ प्रतिशत, लुम्बिनी विकास बैंक १४३ प्रतिशत र गरिमा विकास बैंकको ४.२४ प्रतिशतले बढेको छ । ज्योति विकास बैंक, मुक्तिनाथ विकास, महालक्ष्मी, साइन रेसुंगा र सांग्रिला विकास बैंकको नाफामा गिरावट आएको छ ।

बजारमा उच्च ब्याजदरका कारण माग र उपभोग संकुचित हुँदा बैंकहरूले कर्जा लगानी गर्न सकेनन् । जसको असर वाणिज्यदेखि विकास बैंकमा समेत देखिएको छ । अर्कोतिर ब्याजदर वृद्धिले महंगो निक्षेपमा ऋण उठाएका बैंकहरूको लागत बढ्यो भने लगानी हुनुपर्ने रकम प्रणालीमै थुप्रिएर बस्दा खुद ब्याज आम्दानी समेत घटेको देखिन्छ ।

कर्जा लगानी गरेको ऋण समेत नउठ्दा खराब कर्जा बढेको छ । ऋण लगानी समयमै नउठ्दा एकातिर बैंकको प्रोभिजनिङ बढेको छ भने अर्कोतिर व्यवसायमा धक्का लागेको छ । वाणिज्य बैंकको प्रोभिजनिङ बढ्दा खुद नाफामा धक्का लागेको तथ्यांकले देखाउँछ । गत वर्ष १६ अर्ब ५५ करोड रुपैयाँ कमाएका बैंकहरूको खुद नाफा नै घटेर १३ अर्ब ४७ करोडमा सितित भएको वित्तीय विवरणले देखाउँछ ।

यही अवस्था विकास बैंकमा पनि देखिएको छ । यद्यपि, राष्ट्रिय स्तरका विकास बैंकको प्रोभिजनिङ बढेको देखिँदैन । तर, लगानीको दबाबमा रहँदा संस्थाहरूले खुद नाफा बढाउन सकेनन् ।

कुनले कति कमाए ?

पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले २२ करोड ८८ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यस बैंकले ३० अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

गरिमा विकास बैंक २० करोड, साइन रेसुङगा विकास बैंक १९ करोड, लुम्बिनी विकास बैंक १७ करोड र कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख रुपैयाँ कमाएका छन् ।

सबैभन्दा न्यून सांग्रिला विकास बैंक ४ करोड ६५ लाख, ज्योति विकास बैंक ५ करोड र महालक्ष्मी विकास बैंकले ९ करोड ५३ लाख रुपैयाँ कमाएका छन् ।

खराब कर्जा बढ्यो

सबै विकास बैंंकको खराब कर्जा वृद्धि भएको छ । बैंकले ऋण लगानी गरेको रकम असुल नहुँदा यस्तो कर्जा औसतमा ०.७७ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकको निष्कृय कर्जा औसतमा २.३२ प्रतिशत रहेकामा यस वर्षको सोही अवधिमा बढेर ३.०९ प्रतिशत पुगेको छ ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३.९७ प्रतिशत निष्कृय कर्जा पुगेको छ । ज्योती विकास, कामना सेवा, लुम्बिनी विकास, सांग्रिला विकास बैंकको ३ प्रतिशतमाथि खराब कर्जा छ । मुक्तिनाथको १.४९, साइन रेसुङगा २.५९ र गरिमा बैंकको २.६८ प्रतिशत खराब कर्जा रहेको छ ।

लागत बढ्दा घट्यो खुद ब्याज आम्दानी

बैंकको लगात बढ्दा खुद ब्याज आम्दानी घटेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकको खुद ब्याज आम्दानी ८ करोड रुपैयाँले घटेको छ ।

गत वर्ष खुद ब्याज आम्दानी बापत ४ अर्ब ८९ करोड रुपैयाँ कमाएका विकास बैंकले यस वर्षको सोही अवधिमा ४ अर्ब ८१ करोड कमाएका छन् । मुक्तिनाथ, गरिमा र साइन रेसुंगा बैंकको ब्याज आम्दानी बढ्दा बाँकीको भने घटेको छ ।

वित्तीय विवरण अनुसार सबै विकास बैंकको आधारदर ११ प्रतिशतभन्दा माथि छ । यद्यपि, गत वर्षको तुलनामा ०.६४ प्रतिशतले घटेको छ । संस्थाहरूले महंगोमा निक्षेप उठाएर ब्याज तिर्नुपर्दा खुद ब्याज आम्दानी घटेको देखिन्छ ।

 

आइपीओ बेच्न हतारिने म्युचुअल फण्डलाई अंकुश, अब ६ महिनासम्म बेच्न नपाउने Read Previous

आइपीओ बेच्न हतारिने म्युचुअल फण्डलाई अंकुश, अब ६ महिनासम्म बेच्न नपाउने

आठौं रियल इस्टेट एक्सपाे पुसमा हुँदै, घर निर्माण सामग्री र सेवा एकै ठाउँमा पाइने Read Next

आठौं रियल इस्टेट एक्सपाे पुसमा हुँदै, घर निर्माण सामग्री र सेवा एकै ठाउँमा पाइने