काठमाडौं । आरक्षित कोटामा पाएको प्राथमिक साधरण सेयर (आइपीओ) बेच्न हतारिने म्युचुअल फण्डहरुलाई अंकुश लगाइएको छ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डहरुलाई आरक्षणमा पाएको सेयर ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गरेको हो ।
यो व्यवस्था कात्तिक २१ गतेदेखि नै लागू भएको बोर्डले जनाएको छ । हरेक सार्वजनिक निष्काशनमा म्युचुअल फण्डहरुले कुल सेयरको ५ प्रतिशत सेयर आरक्षणमार्फत पाउँछन् । तर, नेप्सेमा कारोबारमा आउने बित्तिकै सबै म्युचुअल फण्डले आइपीओ बेच्ने गरेका थिए । जसले सेयर बजार नै प्रभावित बनाएको भन्दै लगानीकर्ताले म्युचुअल फण्डको कोटा नै खारेज गर्न माग गर्दै आएका थिए ।
म्युचुअल फन्डहरुले सेयर बजार सन्तुलन राख्न भूमिका खेल्नुपर्नेमा उल्टै आइपीओमा पाएको सेयर समेत बिक्रीमा ल्याइ बजारमा आपूर्ति बढाउने गरेको व्यापक गुनासो आएपछि बोर्डले आइपीओमा पाएको सेयर बिक्रीमा कडाइ गरेको हो । यो व्यवस्थाले सेयर बजार सुधारमा भूमिका खेल्ने बोर्डको अपेक्षा छ ।
तर, आइपीओ बाँडफाँट भएको आगामी ६ महिनामै म्युचुअल फण्ड परिपक्व हुने भए त्यस्ता योजनालाई भने नयाँ निर्देशनले सेयर बेच्न नरोक्ने बोर्ड स्पष्ट पारेको छ ।