काठमाडौं । तिहारमा अत्याधिक खपत हुने ‘भाइमसला’ को मूल्य यस वर्ष खासै नबढेको पाइएको छ । विगतमा तिहारको बेला अचाक्ली भाउ बढ्ने गरेको भए पनि यस वर्ष अधिकांश भाइमसालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको हो ।
यसअघि नै भाइमसलाको मूल्य महँगो रहेको र पुरानै सामान स्टक रहेकाले यस वर्ष तिहारमा धेरै मूल्य नबढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण अरुबेला भाइमसलाको खपत कम हुँदा धेरै आयात गर्न नपरेको संघको भनाइ छ ।
वर्षौंदेखि असनमा भाइमसलाको व्यापार गर्दै आएका पुष्परत्न तुलाधारले यसपटक तिहारमा मसलाको मूल्य खासै नबढेको बताए । विगतका वर्षहरूमा तिहारको बेला भाइमसलाको मूल्य २० प्रतिशतसम्म बढ्ने गरेकोमा यस वर्ष अधिकांशको मूल्य पोहोरकै जस्तो रहेको उनले बताए । ‘यो पटक भाइमसलाको मूल्य खासै धेरै बढेको छैन, अँजिरबाहेक सबैको मूल्य पहिलेको जस्तै छ,’ उनले चाणक्य पोष्टसँग भने ।
भाइमसलामा काजु, बदाम, पेस्ता, किसमिस, अँजिजर, ओखर, नरिवल, छोकडा, लगायतको वस्तु पर्छ ।
कुन भाइमसलाको मूल्य कति ?
तिहारमा बढी खपत हुने मसलामध्ये सबैभन्दा महँगो पेस्ता रहेको छ । बजारमा पेस्तोको मूल्य प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म रहेको छ । गत वर्ष पेस्ताको मूल्य प्रतिकिलो २ हजार रुपैयाँ थियो ।
खुद्रा व्यापार संघका अनुसार यसवर्ष काजुको मूल्य प्रतिकेजी १ हजार ५०० देखि १ हजार ६०० रुपैयाँ रहेको छ । गत वर्ष तिहारमा काजुको मूल्य प्रतिकेजी १ हजार ६०० देखि १ हजार ८०० रुपैयाँसम्म पुगेको थियो ।
यस वर्ष बदामको मूल्य केही घटेको छ । हाल बजारमा बदामको मूल्य प्रतिकेजी १ हजार ३०० रुपैयाँ रहेको छ । गत तिहारमा १ हजार २५० रुपैयाँदेखी १ हजार ३५० रुपैयाँ थियो ।
त्यसैगरी, किसमिसको मूल्य प्रतिकेजी ५०० देखि ६०० रुपैयाँ, छोकडाको मूल्य प्रतिकेजी ६५० रुपैयाँदेखि ७०० रुपैयाँ, ओखरको मूल्य प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ रहेको छ भने छोडाएको ओखरको मूल्य प्रतिकेजी १५०० रुपैयाँ रहेको छ ।
त्यस्तै, सुपारी प्रतिकिलो १८०० रुपैयाँ, अँजिर प्रतिकिलो २ हजार रुपैयाँदेखि २२०० रुपैयाँ, नरिवल प्रतिकिलो ५५० रुपैयाँ, मखना प्रतिकिलो १२०० रुपैयाँले बिक्री भइरहेको खुद्रा व्यापार संघले जनाएको छ ।
यी सबै सामाग्रीहरू मिसाएर भाइमसलाको छुट्टै प्याकिङ गरेर पनि बेच्ने गरिन्छ । यसरी बेच्ने भाइमसलाको मूल्य प्रतिप्याकेट १०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रहेको छ ।
५ अर्बको आयात
चालु आर्थिक वर्षको ३ महिना (साउन–कात्तिक)सम्म ५ अर्ब ५६ करोड रुपैयाँ बढीको भाइमसला ‘ड्राइफ्रुट’ नेपाल भित्रिएको छ । उक्त मूल्यको ६ करोड ६१ लाख केजी ड्राइफ्रुट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
जसमध्ये १३ करोड ९० लाख रुपैयाँको काजु आयात भएको छ । १९ करोड ७ लाखको बदाम आयात भएको छ भने ३७ करोड ६५ लाख रुपैयाँको ओखर आयात भएको छ । त्यस्तै, ५ लाख ५९ हजार रुपैयाँको पेस्ता, १ करोड ४५ लाख रुपैयाँको अँजिर, ३१ करोड ७७ लाख रुपैयाँको नरिवल, १३ करोड ६० लाख रुपैयाँको किसमिस र २ लाख ३ हजार रुपैयाँको छोकडा आयात भएको छ ।