काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको निष्कृय कर्जा दोब्बर भन्दा बढीले वृद्धि भएको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण लगानी गरेको ऋण असुली प्रभावित हुँदा निष्कृय कर्जा ह्वात्तै बढेको हो ।
चालु आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरुको औसतमा खराब कर्जा ३.४० प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमाससम्म बैंकहरुको निष्कृय कर्जा १.६६ प्रतिशत रहेको थियो । बैंकहरुको निष्कृय कर्जा बढ्दा नाफा समेत घटेको छ । यस वर्षको पहिलो तीन महिनामा दर्जन बैंकको नाफा घटेको छ भने कृषि विकास बैंक घाटामा छ ।
सात बैंकले मात्रै नाफा बढाउन सफल भए पनि औसतमा गत वर्षको भन्दा १८.६० प्रतिशतले गिरावट आएको छ । गत वर्षको तीन महिनामा १६ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरुले यो वर्षको सोही अवधिमा १३ अर्ब ४७ करोड रुपैयाँ कमाएका छन् ।
निष्कृय कर्जाले बैंकको प्रोभिजनिङ बढाएको छ । जसको कारण खुद नाफामा समेत धक्का लागेको हो । बैंकले ऋण लगानी गरेको रकम समयमै असुल नहुँदा निष्कृय कर्जामा परिणत हुँदै जान्छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण ऋणीले बैंकको कर्जा रिकभरीमा समेत असर देखिएको छ । जसको कारण खराब कर्जा बढेको बैंकरहरु बताउँछन् ।
पूर्व बैंकर अनलराज भट्टराई अर्थतन्त्रको चक्रमा देखिएको समस्याका कारण बैंकको वित्तीय अवस्था कमजोर भएको बताउँछन् । ‘क्यास साइकलमा समस्या देखिएको छ । त्यसपछि खराब कर्जा बढ्ने नै भयो, यो अपेक्षित नै थियो,’ उनले भने, ‘ऋण असुलमा समस्या देखिएको छ । दशैं भएर पनि केही रिकभरी भएन् ।’
अर्धवार्षिक वित्तीय विवरणले संस्थाहरुको वास्तविक वित्तीय अवस्था देखाउने उनले बताए । मौद्रिक र वित्त नीतिबाट केही सहुलियत नीतिहरु नआए पुससम्म खराब कर्जा औसतमा ४ प्रतिशतसम्म पुग्ने उनको अनुमान छ ।
‘पुससम्म पनि ऋण पिकअप हुने अवस्था देखिँदैन । खास अर्थतन्त्र चलायमान भएन भने प्रणालीमा भएको ७० प्रतिशत स्रोत अनयुटिलाइज हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि अझै नराम्रो अवस्था आउँछ । निष्कृय कर्जा ४ प्रतिशतको हाराहारीमा पुग्न सक्छ । केन्द्रिय बैंकले मौद्रिक र सरकारले फिस्कल सहुलियत प्याकेज ल्यायो भने त्यत्तिमाथि जाँदैन’
वित्तीय संस्थाका लागि निष्कृय कर्जा जति न्यून भयो त्यत्ति उपयुक्त मानिन्छ । यस्तो कर्जाको हिस्सा बढ्दै गए वित्तीय संस्था नै टाटपल्टिने अवस्थामा पुग्ने जोखिम रहन्छ । सोही कारण नेपाल राष्ट्र बैंकले नै सम्भावित जोखिमका क्षेत्रमा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई नीतिगत अंकूश लगाउँदै आएको छ ।
| COMMERCIAL BANKS NON PERFORMING LOAN (NPL%) | |||
| Bank | 2080/81 Q1 | 2079/80Q1 | Difference |
| Agriculture Development Bank | 5.33 | 2.38 | 2.95 |
| Kumari Bank | 4.89 | 1.28 | 3.61 |
| Nepal Investment Mega Bank | 4.83 | 1.57 | 3.26 |
| Laxmi Sunrise Bank | 4.69 | 1.72 | 2.97 |
| Himalayan Bank | 4.67 | 2.31 | 2.36 |
| Global IME Bank | 4.38 | 2.1 | 2.28 |
| Prabhu Bank | 3.97 | 1.68 | 2.29 |
| Citizens Bank International | 3.97 | 2.89 | 1.08 |
| Nepal Bank | 3.84 | 2.36 | 1.48 |
| Nabil Bank | 3.69 | 2.33 | 1.36 |
| Prime Commercial Bank | 3.67 | 1.8 | 1.87 |
| Rastriya Banijya Bank | 3.62 | 2.48 | 1.14 |
| Siddhartha Bank | 3.44 | 2.15 | 1.29 |
| NMB Bank | 2.84 | 1.9 | 0.94 |
| Machhapuchhre Bank | 2.56 | 1.3 | 1.26 |
| Nepal SBI Bank | 2.35 | 0.36 | 1.99 |
| Sanima Bank | 1.79 | 0.91 | 0.88 |
| NIC Asia Bank | 1.37 | 0.59 | 0.78 |
| Standard Chartered Bank Nepal | 1.10 | 0.77 | 0.33 |
| Everest Bank | 0.90 | 0.33 | 0.57 |
| Total/Average | 3.40 | 1.66 | 1.73 |
बैंकहरुले कर्जा लगानीको क्षेत्र र जोखिमका आधारमा केही रकम प्रोभिजनिङ गर्नुपर्ने प्रावधान छ । निष्कृय कर्जाको हिसाबले नेपालका बैंक तथा वित्तीय संस्थाहरु जेखिमको अवस्थामा नरहेको वित्तीय क्षेत्रका जानकारहरुको भनाइ छ ।
कर्जा असुलीमा देखिएको समस्याका कारण आगामी त्रैमासमा निष्कृय कर्जा अझै बढ्न सक्ने एक वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत बताउँछन् । ‘अहिलेको निष्कृय कर्जा भनेको अर्थतन्त्रमा देखिएको यस अघिको परिणाम हो । आगामी त्रैमासमा केही अझै बढ्ने देखिन्छ,’ उनले भने । समग्र अर्थचक्रमा आएको समस्याको रिफ्लेक्सन् बैंकिङ व्यवसायमा पनि देखिएको उनको भनाइ छ ।
गत वर्षदेखि बैंकहरुको व्यवसायमै असन्तुलन देखिदैआएको छ । बजारमा माग नहुँदा संस्थाहरुले ऋण लगानी गर्न सकेका छैनन् । अर्कोतिर लगानी गरेको रकम पनि ऋणीले समयमै तिर्न सकेका छैनन् ।
कुन बैंकको कति ?
सबैभन्दा धेरै निष्कृय कर्जा कृषि विकास बैंकको ५.३३ प्रतिशत पुगेको छ । कुमारी, इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, हिमालयन, र ग्लोबल आइएमई बैंकको निष्कृय कर्जा ४/४ प्रतिशत माथि छ ।
प्रभु, सिटिजन, नेपाल बैंक, नबिल, प्राइम, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकको पनि खराब कर्जा ३/३ प्रतिशत भन्दा बढी छ । सबैभन्दा न्यून एभरेष्ट बैंकको ०.९० र स्ट्यान्डार्ड चाटर्ड बैंकको १.१० प्रतिशत रहेको छ ।
यसैगरी, एनएमबी, एसबीआई र माछापुच्छ्रे बैंकको खराब कर्जा २२ प्रतिशतभन्दा बढी पुगेको छ । सानिमा १.७९ र एनआइसी एसिया बैंकको निष्कृय कर्जा १.३७ प्रतिशत रहेको वित्तीय विवरणले देखाउँछ ।