ओटीसी मार्केटमा २३ कम्पनीको सेयर कारोबार, वर्ल्ड लिंकको प्रतिकित्ता मूल्य ९३७५ रुपैयाँ

काठमाडौं । ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा २३ कम्पनीको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार असोज मसान्तसम्म २३ कम्पनीको १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त मूल्यमा कुल १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको हो ।

ओटीसी मार्केटमा कारोबार भएका २३ कम्पनीमध्ये वर्ल्ड लिंक कम्युनिकेसनको सेयर सबैभन्दा महँगो मूल्यमा कारोबार आएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँको दरले कारोबार भएको छ । यसको कुल १३ हजार ३९२ कित्ता सेयर कारोबार भएको हो ।

यस्तै, यस अवधिमा आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ४० करोड ८ लाख ९८ हजार ४०० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आइएमईको प्रतिकित्ता १३६.३६ रुपैयाँ दरले सेयर किनबेच भएको छ ।

यसैगरी, ओटीसी मार्केटमा नेपाल क्यान्सर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी, बीओके क्यापिटल, याम्बलिङ हाइड्रोपावर, गर्जाङ उपत्यका पावर, जनज्योति एजुकेसन फाउन्डेसन, अपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपान मल्टिपल, आभासार इक्विटी, बन्दीपुर केबलकार, अन्नपूर्ण केबलकार, भरतपुर सामुदायिक हस्पिटल लगायतको कारोबार भएको छ ।

 

सरकारले ल्याउने चिनी तिहारमा नआउने, अझै टुंगेन ठेक्का प्रक्रिया Read Previous

सरकारले ल्याउने चिनी तिहारमा नआउने, अझै टुंगेन ठेक्का प्रक्रिया

सोनापुर मिनरल्सको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो Read Next

सोनापुर मिनरल्सको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो