सरकारले ल्याउने चिनी तिहारमा नआउने, अझै टुंगेन ठेक्का प्रक्रिया

काठमाडौं । बजारमा अभाव र अचाक्ली मूल्य वृद्धि भए पनि सरकारले ल्याउने भनेको चिनी तिहारसम्म नआउने भएको छ । अर्थ मन्त्रालयले ५० प्रतिशत भन्सार छुटमा २० हजार मेट्रिकटन चिनी आयातका लागि अनुमति दिए पनि ठेक्का प्रक्रिया नटुंगिएकाले चिनी तिहार अगावै नआउने भएको हो ।

दशैं अगावै बजारमा चिनीको चरम अभाव भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार छुटमा ५० हजार टन चिनी आयातको सहमति दिन अर्थमन्त्रालयसँग आग्रह गरेको थियो । अर्थमन्त्रालयले मागको आधाभन्दा कम चिनी आयातको अनुमति दिए पनि अझै ठेक्का प्रक्रिया नटुंगिएकाले चिनी आउन अझै महिनौं लाग्ने देखिएको हो ।

सरकारको तर्फबाट चिनी आयात गर्ने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले हालसम्म ठेक्का लगाउन सकेको छैन । कम्पनीले असोज १० गते चिनी ल्याउन ठेक्का आह्वान गरे पनि अहिलेसम्म कुनै आवेदन परेको छैन ।

कम्पनीकी सूचना अधिकारी सर्मीला सुवेदीले ४५ दिनको ठेक्का आह्वान भएकोले चिनी आउन समय लाग्ने बताइन् । ‘तिहारसम्म चिनी आइपुग्न गाह्रो छ, ४५ दिनको ठेक्का हो, आजसम्म कसैको आवेदन आएको छैन,’ उनले चाणक्य पोष्टसँग भनिन् ।

खाद्यले अर्थ मन्त्रालयको अनुमति अनुसार १० हजार मेट्रिकट चिनी ल्याउन लागेको हो । त्यस्तै, सरकारले साल्ट ट्रेडिङलाई १० हजार टन चिनी आयातको अनुमति दिएको छ । साल्ट ट्रेडिङले पनि अहिलेसम्म ठेक्का लगाउन सकेको छैन ।

तिहार अगावै सरकारले ल्याउने भनेको चिनी नआउने भएपछि उपभोक्ताले फेरि महँगो मूल्यमा चिनी किन्नुपर्ने भएको छ । अहिले काठमाडौंका अधिकांश बजारमा यस बेला चिनी नै छैन । चिनी भएका किराना खाद्य पसलहरूले प्रतिकेजी १५० रुपैयाँसम्ममा चिनी बेचिरहेका छन् ।
हाल भने साल्ट ट्रेडिङ र खाद्य कम्पनी दुवैसँग चिनी मौज्दात छैन । बजारमा चिनी अभाव भएपछि केही व्यापारीहरूले आफूसँग भएको मौज्दात चिनीको मूल्य बढाएका छन् ।

चाडवाडको बेला चिनी अभाव र मूल्य वृद्धि हुँदा उपभोक्ता दोहोरो मारमा परेका छन् । महँगीको मारमा पिल्सिएका उपभोक्तालाई चिनी अभावले झनै आजित बनाएको छ । सरकारले सहुलियत पसलमा प्रतिकेजी ९७ रुपैयाँमै चिनी दिने बताए पनि स्टक सकिएको भन्दै बिक्री बन्द गरेको छ ।

देशभर वार्षिक २ लाख ६५ हजार मेट्रिक टनदेखि ३ लाख टन चिनी माग हुँदै आएको छ । सो मध्ये १ लाख मेट्रिक टन चिनी नेपाल उत्पादन हुने गरेको छ भने बाँकी आयातमा निर्भर छ ।

भारतबाट चिनी निर्यात प्रतिबन्ध हुनु धेरै अघि स्वदेशी उद्योगबाट अपुग भएको हो । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौं महानगरको राजस्व संकलन २५% बढ्यो, २ महिनामै उठायो १ अर्ब १७ करोड Read Previous

काठमाडौं महानगरको राजस्व संकलन २५% बढ्यो, २ महिनामै उठायो १ अर्ब १७ करोड

ओटीसी मार्केटमा २३ कम्पनीको सेयर कारोबार, वर्ल्ड लिंकको प्रतिकित्ता मूल्य ९३७५ रुपैयाँ Read Next

ओटीसी मार्केटमा २३ कम्पनीको सेयर कारोबार, वर्ल्ड लिंकको प्रतिकित्ता मूल्य ९३७५ रुपैयाँ