काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) किन्ने लगानीकर्ता घाटामा गएका छन् । आइतबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य लगातार घटेर आइपीओको मूल्यभन्दा तल झरेपछि सेयर लगानीकर्ता घाटामा गएका हुन् ।
प्रिमियम मूल्यमा सेयर जारी गरेको सोनापुरले प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो । तर, बुधबार (बिहान ११ः२०) मिनेटमा प्रतिकित्ता २३० रुपैयाँसम्म झरेर थियो भने २३६ रुपैयाँमा कारोबार भइरहेको छ ।
कात्तिक १२ गते प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य लगातार ३ दिन नेगेटिभ सर्किट लागेको थियो भने आज पनि समाचार तयार पार्दासम्म ७ प्रतिशतले घटेको छ । ४ दिनमै कम्पनीको सेयर मूल्य ११४ रुपैयाँले घटेको छ ।
खरिदकर्ता अत्यन्तै न्यून भए पनि अधिक सप्लाई आएपछि कम्पनीको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको हो । अघिल्ला ती दिनमा खरिदकर्ता अत्यन्तै न्यून थिए । आज भने बिक्रीकर्ताभन्दा खरिदकर्ता धेरै आएका छन् ।
नेप्सेमा कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ दरको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ४० प्रतिशत अर्थात् १ करोड २३ लाख २०० कित्ता छ ।