प्याजको भाउले आकाश छुँदै, खुद्रा बजारमा प्रतिकिलो अढाइ सय नजिक

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा प्याजको मूल्य दिनदिनै आकाशिदै गएको छ । भदौदेखि उकालो लागेको प्याजको मूल्य अहिले खुद्रा बजारमा प्रतिकेजी अढाइ सय नजिक पुगेको छ ।

 

दैनिक भान्सामा प्रयोग हुने प्याजको भाउ पछिल्लो तीन महिनामा मात्रै ३०९ प्रतिशत अर्थात् १७५ रुपैयाँले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा भदौ १ गते प्रतिकेजी ५५रुपैयाँमा खुद्रा कारोबार भएको प्याजको मूल्य मंगलबार (आज) प्रतिकेजी २ सय ३० पुगेको छ ।

 

सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार एकै दिनमा ३० रुपैयाँले बढेको छ।

 

कालिमाटी बजारमा प्याजको थोक मूल्य नै प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ । स्थानीय खुद्रा व्यापारीहरुले थोक मूल्यभन्दा ३० प्रतिशतसम्म बढीमा बेच्ने गरेकाले सर्वसाधरण महँगो मूल्य तिर्न बाध्य छन् । सरकारले नियमित बजार अनुगमन नगर्ने भएकाले व्यापारीले प्याज मनपरी भाउमा बिक्री गर्ने गरेका छन् ।

प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो । नेपाली बजारमा ९५ प्रतिशत प्याज भारतबाट आयात हुने भएकाले आयात हुन छाडेपछि बजारमा प्याजको मूल्य ह्वातै आकाशिएको हो ।

 

नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको र भारतबाट आयात नहुने भएकाले आगामी दिनमा प्याजको भाउ अझै बढ्ने सम्भावना रहेको देखिन्छ ।

 

चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब २६ करोड २ लाख रुपैयाँ बराबरको प्याज आयात भएको छ । सो अवधिमा ३ करोड ६३ लाख ५१ हजार केजी प्याज आयात भएको हो ।

 

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा कूल ५ अर्ब ६२ करोड २५ लाख रुपियाँको प्याज आयात भएको थियो । यस्तैआर्थिक वर्ष २०७४/७५ मा कूल ४ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।

नक्कली नागरिकता प्रयोग गरी कृषि विकास बैंकको ३४ करोड दुरुपयोग Read Previous

नक्कली नागरिकता प्रयोग गरी कृषि विकास बैंकको ३४ करोड दुरुपयोग

नेपाल भारत पारवहन सन्धी पुनरावलोकनको बैठक शुरु Read Next

नेपाल भारत पारवहन सन्धी पुनरावलोकनको बैठक शुरु