कछुवाको गतिमा नारायणगढ-बुटवल सडक विस्तार, तिहारपछि कामले गति लिने

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार थालिएको ५ वर्ष बित्न लाग्दा बल्ल एकतिहाई काम पूरा भएको छ । लक्ष्य अनुसार डेढ वर्ष अघि नै काम सम्पन्न गर्नुपर्ने भए पनि आयोजनाको हालसम्म समग्रमा ३९ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।

पटकपटक म्याद थप्दा समेत सडक विस्तारले गति लिन सकेको छैन । ठेकेदारको लापारबाही, रुख कटान, साइट क्लियरेन्समा ढिलाइ, कोरोना महामारी, सरकारको वेवास्ता लगायत कारणले सडक विस्तारले गति लिन नसकेको हो ।

साढे ३ वर्षभित्र सक्ने गरी २०७५ चैतदेखि विस्तार थालिएको यस सडकको हालसम्म ३९ प्रतिशत मात्र काम सकिएको हो । आयोजनाको काम दुई खण्डमा विभाजन गरी भइरहेको छ ।

एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार भइरहेको यस सडकको अझै ६१ प्रतिशत काम बाँकी छ ।
११४ किमी लम्बाइको यो सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ । नारायणगढ–दाउन्ने र दाउन्ने–बुटवल खण्डमा विभाजन गरेर काम भइरहेको हो ।

एडीबीका उपआयोजना निर्देशक विजयकुमार महत्तोले पूर्वीखण्ड (नारायणगढ-दाउन्ने)मा हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको बताए ।उनका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्र गरिएको छ । यसखण्डमा साना पुलको काम सकिनुका साथै १२ ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको आयोजनाले जनाएको छ ।

त्यस्तै, पश्चिमी (दाउन्ने–बुटवल) खण्डमा भने ३८ प्रतिशत हाराहारीमा काम पूरा भएको उनले बताए । दशैँ अघि वर्षाका कारण कामले गति लिन नसके पनि तिहार र छठ लगत्तै विस्तारको कामले गति लिने महत्तोले बताए ।

‘दशैँ अघिसम्म वर्षाका कारण २/३ महिना कामले गति लिन सकेको थिएन । तिहार र छठपछि ठेकेदार कम्पनीले कामको स्पिड बढाउने भनेको छ,’ महत्तोले भने ।

महत्तोले विगतमा काम नगरेकाले ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिइएकोले कामले चाँडै गति लिने बताए । उनले अबको ९ महिनामा काम नसके ठेक्का तोडिने बताए । ‘ठेकेदारसँग धेरै समय छैन ९ महिनामा कालोपत्र गरेन भने ठेक्का तोड्ने छौँ,’ उनले भने ।

२०७९ साउनमा आयोजनाको म्याद सकिएपछि एक वर्षको म्याद थपिएको थियो । थपिएको म्याद पनि सकिँदा आयोजनाको १८ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि फेरि १ वर्षको म्याद थपिएको थियो । सोम्याद गत भदौमा सकिँदासम्म आयोजनाको ३८ प्रतिशत मात्रै काम पूरा भएको छ । बाँकी काम १ वर्ष भित्रै सक्ने शर्तमा आयोजनाको म्याद फेरि तेस्रोपटक थपिएको छ । थपिएको म्याद आगामी साउनमा सकिने छ ।

दुवै खण्ड विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । आयोजनको कुल अनुमानित लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ । आयोजना अन्तर्गत हालसम्म २७ प्रतिशत बजेट खर्च भएको महत्तोले बताए ।

 

अब ट्राफिकलाई नागरिक एपमा भएको लाइसेन्स देखाउँदा मान्य हुने Read Previous

अब ट्राफिकलाई नागरिक एपमा भएको लाइसेन्स देखाउँदा मान्य हुने

राष्ट्रसंघका महासचिव गुटेरेस पाेखरामा माला र ढाकाटोपीमा सजिएपछि... Read Next

राष्ट्रसंघका महासचिव गुटेरेस पाेखरामा माला र ढाकाटोपीमा सजिएपछि...