राष्ट्रसंघका महासचिव गुटेरेस पाेखरामा माला र ढाकाटोपीमा सजिएपछि…

गण्डकी । पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो ।

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए । उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए ।

तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो ।

महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए ।

चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनी आज पोखरा भ्रमणमा आएका हुन् । उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बस्नेछन् । महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाइएको छ ।

 

 

कछुवाको गतिमा नारायणगढ-बुटवल सडक विस्तार, तिहारपछि कामले गति लिने Read Previous

कछुवाको गतिमा नारायणगढ-बुटवल सडक विस्तार, तिहारपछि कामले गति लिने

नेपालका झन्डै ६० प्रतिशत घर एकतले, १० प्रतिशतले घर बनाउँदा लिए सरकारी अनुदान Read Next

नेपालका झन्डै ६० प्रतिशत घर एकतले, १० प्रतिशतले घर बनाउँदा लिए सरकारी अनुदान