
काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये झन्डै ६० प्रतिशत घर एकतले रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल घरमध्ये ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो।
कार्यालयका अनुसार नेपालभर ७५ लाख ५२ हजार ६६ वटा घरहरु रहेकामा ४५ लाख १७ हजार ६४५ वटा एकतले रहेका हुन् ।
त्यस्तै, दुई तले घरको संख्या २८.७८ प्रतिशत, तीन तले घरको संख्या ९.१७ प्रतिशत, चारतले १.३ प्रतिशत, पाँचदेखि साततले ०.६४ प्रतिशत, आठदेखि नौतले ०.०१ प्रतिशत र १०भन्दा बढी तले घरको संख्या ०.००३ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ ।
तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ । त्यस्तै, पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ।
तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ । सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेका छन् ।
त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ।