काठमाडौं । आर्थिक मन्दीकै बीच विदेशी वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउन–असोज)को तथ्यांक अनुसार गत वर्षको तुलनामाआयात १.६९ प्रतिशतले बढेको छ।
विभागका अनुसार चालु आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा झन्डै ७ अर्ब बढी हो । गत वर्ष असोजसम्म ४ अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
चालु आवको असोजमा मात्रै झन्डै डेढ खर्बको वस्तु आयात भएको छ । साउन र भदौमा गरी जम्मा २ खर्ब ५९ अर्बको वस्तु आयात भएकोमा असोजमा मात्रै १ खर्ब ४८ अर्बको आयात भएको विभागको तथ्यांक छ ।
पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार हुँदै जाँदा विदेशी वस्तु आयातमा गरिएको खुकुलो नीतिले आयात बढेको विभागको भनाइ छ । त्यस्तै, दशैं तिहार जस्ता प्रमुख चाडपर्वका कारण पनि आयात बढेको विभागले जनाएको छ ।
विदेशी मुद्रा संचिति घट्दै गएको भन्दै सरकार र राष्ट्र बैंकले अघिल्लो वर्ष विदेशी वस्तु आयातमा कडाइ गरेको थियो । विदेशी मुद्रा संचितिमा सुधार आएसँगै सरकारले गत मागदेखि विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएको थियो ।
निर्यात भने घट्यो
चालु आवको तीन महिनामा आयात बढे पनि निर्यात भने घटेको छ । यस अवधिमा कुल ४० अर्ब ८७ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कमी हो । गत वर्षको यही अवधिमा निर्यात ४१ अर्ब ८२ करोडको निर्यात भएको थियो ।
आयात बढे पनि निर्यात घट्दा मुलुकको व्यापार घाटा पनि बढेको छ । समीक्षा अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । जबकि गत वर्ष सोही अवधिमा व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ थियो ।
चालु आवको ३ महिनामा कुल ४ खर्ब ४८ अर्बको वैदेशिक व्यापार भएको थियो । यो गत वर्ष सोही अवधिकोभन्दा १.३१ प्रतिशत बढी हो । गत वर्ष असोजसम्म ४ खर्ब ४२ अर्बको वैदेशिक व्यापार भएको थियो ।