झापा। झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंमा ६९ लाख ६० हजार रुपैयाँ मूल्यको खसीबोका बिक्री गरेको छ। संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलामका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए।
किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ। उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो। यसपालि पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको थियो।
संस्थाको कृषि क्षेत्रका प्रमुख डा कमलेश्वर भाटले यसपालिको दशैंमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिए। ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए।
झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथरमा ती खसीबोका बिक्री गरिएका थिए। खसीबोका जिउँदै तौलिएर प्रतिकेजी ५ सय ८० रुपैयाँमा बिक्री गरिएको उनले जानकारी दिए।
‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौँ,’ उनले भने, ‘किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्षरूपमा सघाउँछौँ। उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ।’
संस्थाले ६ जिल्लामा ४ सयको सङ्ख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए। बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको समस्या नभएको उनको भनाइ छ।
बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ। १ लाख ५७ हजार ९२० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० ऋणी छन्। संस्थाबाट कृषि कर्जा लिनेको सङ्ख्यासमेत उल्लेख्य छ। रासस